प्रभावकारी बन्दै सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा

प्रभावकारी बन्दै सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा

583

मिलन उपाध्याय

काठमाडौंमा सवारी जामलाई कम गर्न संचालन गरिएको सुर्यविनायक – रत्नपार्क द्रुत बससेवा प्रभावकारी हुँदै गएको पाईएको छ । सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिनाई भोगेका सर्वसाधारणहरुले द्रुतबस संचालन पछि धेरै राहत भएको बताएका छन् ।

भक्तपुरको सुर्यविनायक घर भै काठमाडौंको बागबजार एक कन्सल्टेन्सीमा कार्यरत शर्मिला तामाङ्ग अहिले द्रुतबसको नियमित यात्रु हुन् । बिहान ९:१० बजे सुर्यविनायक द्रुतबस बिसौनीमा भेटिएकी तामाङ्गले द्रुतबस सेवा संचालनमा आएदेखी समयमा कार्यालय पुग्ने गरेको खुसिहुदैं सुनाईन ।

नियमित कार्यालय आउजाउ गर्नुपर्ने सुर्यविनायककै प्रहृलाद थापा मिनभवन स्थित एक सरकारी कार्यालयमा सेवा रत छन् । ठिक १० बजे कार्यालय पुग्नुपर्ने उनी द्रुतबस बाहेक अरु बस चढ्न छोडेको लामो समय भै सकेको छ । थापा भन्छन् ‘ द्रुतबस नै अहिले हामी कामकाजीहरुकोलागी बिस्वासिलो सवारी साधन हो ‘ ।

त्यस्तै सुर्यविनायक घर भै बानेश्वर स्थित ईन्स्योरेन्स कम्पनिमा कामगर्ने सावित्रा सिवाकोटी पनि नियमित रुपमा द्रुत बसमै यात्रा गर्न रुचाउँछिन । अरु बसले रोकेर हैरान ,परेसान बनाउनुका साथै सवारीको जाममा लाम लागेर अपिस ढिला पुग्दा हाकिमबाट सुन्नुपर्ने शब्दहरु समेत द्रुतबस चढ्नथालेदेखी बन्द भएको उनले बताईन् । बानेश्वरको एक बैंकमा कार्यरत चन्द्र नारायण श्रेष्ठ हुन कि बानेश्वरमै अध्यानरत मनिसा गौतम उनिहरु मात्र हैन अहिले भक्तपुरबाट काठमाडौं कार्यालयमा काम गर्न , कलेज पढ्न लगायत अन्य महत्वपुर्ण कामकाजकालागी समयमै पुग्न एउटैमात्र सार्वजनिक यातायातको बिकल्प द्रुतबस सेवा रहेको पाईएको छ ।

सुर्यविनायकबाट दैनिक बिहान ८:१५ बजेबाट संचालन हुने द्रुतबसमै नियमित यात्रा गर्नहरु यसको सेवाबाट सन्तुष्ट नै देखिएपनि गुनासो चैं द्रुतबसमा बसेर जान नपाउनु रहेको बताउँछन् । पनौति र धुलिखेलबाट छुटेका बसहरु भक्तपुरको सुर्यविनायकसम्म आईपुग्दा प्राय सिट सबै भरिईसकेको हुने हुँदा , सुर्याविनायकबाट काठमाडौंकालागी चढ्ने यात्रुहरुले उभिएरै यात्रा गर्नुपर्ने समस्या रहेको यात्रुहरु बताएका छन् ।

चाडो पुग्नुपर्ने बाध्यतामा रहेका यात्रुहरु , उभिएरै भएपनि जानुको बिकल्प नभएको यात्रु लक्ष्मी दाहालले बताईन् । अरु बसमा गयोभने जामले धेरै समय खाईदिन्छ , चाडो पुग्न उभिएरै भएपनि जानैपर्यो दाहालको भनाई छ । उनले भनिन् ‘भक्तपुरकै द्रुतबस भईदिए बसेर जानपाउने थियौं , त्यसोगर्न सके राम्रो हुने उनले सुझाव दिईन ।

अहिले कार्यालय समयमा दैनिक ३९ देखि ५१ वटा द्रुत बसले सेवा दिइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले द्रुत बसमा यात्रुको चाप रहेको बताए । उनले भने, ‘अहिले दैनिक ३९ देखि ५१ वटासम्म द्रुत बस सञ्चालनमा छन् । काठमाडौंको जामलाई मध्यनजर राखेर द्रुत बस सञ्चालन गरेको हो ।त्यहीअनुसार बस सञ्चालन भइरहेको छ । उनका अनुसार बसको क्षमताभन्दा ३० प्रतिशत धेरै यात्रुले द्रुत बस सेवा लिएको पछिल्लो ६ महिनाको तंथ्याकले देखाएको छ ।

प्रत्येक बसको ४० जना यात्रुको क्षमता हो । त्यसमध्ये औसतमा एउटा बसमा ५० जनाले यात्रा गर्ने गरेको विभाग बताउँछ ।
द्रुत बस सेवाअन्तर्गत कोटेश्वरदेखि रत्नपार्क र रत्नपार्कदेखि कोटेश्वरसम्म चढ्ने यात्रु बढी रहेको विभागले जनाएको छ । विभागका अनुसार जनवरीदेखि जुनसम्ममा कोटेश्वरदेखि रत्नपार्क र रत्नपार्कदेखि कोटेश्वरसम्म यात्रा गर्ने यात्रुको सङ्ख्या ३ लाख ७० हजार ९२१ रहेको छ । त्यस्तै सूर्यविनायकदेखि कोटेश्वर र कोटेश्वरदेखि सूर्यविनायकसम्म यात्रा गर्ने यात्रुको सङ्ख्या ३ लाख ४३ हजार २१४ रहेको छ ।

विशेषगरी कोटेश्वर र सूर्यविनायक स्टेसनहरूमा यात्रु क्षमता र वितरण उल्लेखनीय रहेको विभाग बताउँछ । ‘खासगरी रत्नपार्कदेखि माइतीघर, नयाँ बानेश्वर हुँदै कोटेश्वर पुग्ने सन्दर्भ होस् वा सूर्यविनायकबाट राधेराधे, ठिमी, गठ्ठाघर, कौशलटार हुँदै कोटेश्वर पुगेको सन्दर्भमा, सबैभन्दा बढी यात्रुले द्रुत बसबाट यात्रा गरेको देखिन्छ’, विभागका महानिर्देशक रिजाल भन्छन्, ‘उदाहरणका लागि जुन महिनामा कोटेश्वरमा ८० हजार ३६४ यात्रुले यो सेवा लिएका छन् । एक महिनामा ८० हजारभन्दा धेरैले यात्रा गर्नु कम होइन ।

’जनवरी र जुनभित्र द्रुत बस सेवा मासिक ८ हजार ३६४ यात्रुले लिएको विभागले बताएको छ । रत्नपार्क, कोटेश्वर र सूर्यविनायक रुटमा सञ्चालित एक्सप्रेस बस सेवामा सन् २०२४ जनवरीदेखि जुनसम्ममा ४ लाख ८५ हजार ८९१ जनाले द्रुत बसमा यात्रा गरेका छन् । सो अवधिमा द्रुत बसले ९ हजार ३५६ पटक सेवा दिएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले द्रुत बस सञ्चालनको प्रतिफल राम्रो आएको बताए । सिटौला भन्छन् ‘द्रुत बस सोचेअनुसार नै सफल छ । यात्रुको आकर्षण पनि द्रुत बसमा देखिएको छ ।’
हजारौं गाडी गुड्ने सडकमा ५१ वटा द्रुत बसको सेवा धेरै देखिने कुरा नभएको उनको भनाइ छ । ‘राज्यले अब द्रुत बसलाई कसरी व्यापक बनाउने भनेर सोच्नुपर्ने बेला आएको छ’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘सूर्यविनायक र रत्नपार्कमा द्रुत बस सफल भएको छ । अब थानकोट, रिंगरोड तथा देशका अन्य शहरमा पनि द्रुत बस सञ्चालन गर्नु आवश्यक छ ।’

उनले द्रुत बसमा ठूला बस प्रयोग गरेर सवारी जाम कम गर्न सकिने औंल्याए । सार्वजनिक सवारीसाधनले समयमै गन्तव्यमा पु¥याउँछ भन्ने भएपछि निजी कार, बाइक र स्कुटरको सङ्ख्या आफैं घट्ने उनको दाबी छ ।
‘द्रुत बसलाई व्यापक बनाउने हो भने नेपालको सार्वजनिक यातायात सुधार हुने अवस्था छ । द्रुत बसलाई राज्यले एम्बुलेन्स बराबरको मान्यता दिएर यसलाई विस्तार गर्दै लैजानुपर्छ’, वरिष्ठ उपाध्यक्ष सिटौलाले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको सक्रियतामा २०८० साल असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सेवा सुरु गरिएको थियो । काठमाडौंको सडक जामलाई कम गर्न उद्देश्यले सञ्चालनमा आएको द्रुत बस सेवा केही समय रोकिएर माघदेखि नियमित सञ्चालनमा रहेको विभागले जनाएको छ ।

सार्वजनिक यातायातमा सर्वसाधारणको आकर्षण बढाउँदै सडकमा निजी सवारीका साधन कम गर्ने र राजधानीका सडकमा सवारी चाप घटाउने उद्धेश्य सहित सुरु गरिएको द्रुतबस सेवालाई व्यवस्थित गर्दै लगिएको विभागले बताएको छ ।
विभागले द्रुत बस सञ्चालन र यात्रुको तथ्याङ्कको रियल टाइम ट्र्याकिङ, उचित व्यवस्थापन र अनुगमन सुनिश्चित गर्न एक डेडिकेटेड सफ्टवेयर प्रणाली, ‘एक्सप्रेस बस सेवा नेपाल’ प्रयोगमा ल्याएको छ । द्रुत बस सञ्चालन गर्न विभागले करारमा ३ जना कर्मचारी व्यवस्था गरेको छ । ३ जना कर्मचारीले द्रुत बसको डाटा सङ्कलन गर्ने गरेका छन् ।

प्रारम्भिक चरणमा दुइटा बसबाट रत्नपार्क-सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा सुरु गरिएको थियो । त्यसपछि बस संख्या २५ वटा पुर्‍याइएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल द्रुत बस सेवाअन्तर्गत दैनिक ३९ देखि ५१ वटासम्म गाडी चल्छन् ।

त्यस्तै द्रुत बसले सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमा यात्रा गर्ने लक्ष्य राखिएको थियो, तर उक्त दूरी पूरा गर्न द्रुत बसले औसत ४५ मिनेट ५७ सेकेन्ड लगाएको विभागले जनाएको छ । विभागका अनुसार रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न द्रुत बसले औसतमा ५६ मिनेट ९ सेकेन्ड लगाएको तथ्यांक छ ।

तपाईको बिचार

सम्बन्धित खबर