मंगलबार एक विज्ञप्ति जारी गरेर अनेरास्ववियूले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सत्ता विरुद्ध जारी आन्दोलनप्रति ऐक्द्दयवद्धता जनाएको हो।
अध्यक्ष आरती लामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,’अनेरास्ववियू न्याय, समानता र निम्नवर्गीय जनसमुदायको पक्षमा निरन्तर दबाब, खबरदारी र विरोध गर्दै आएको गौरवशाली संगठन हो। राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा न्याय एवं समानताका लागि सुरु भएका आन्दोलनहरुप्रति हामीले प्रस्तुत गर्दै आएको ऐक्यबद्धता वा विरोधबारे सबैलाई अवगत नै छ।
पटक निजामती सेवामा असमान आरक्षण प्रणाली खारेजीका लागि चर्किएको विद्यार्थी आन्दोलन पछि बंगलादेशको तानाशाही सरकार सत्ताच्युत भएको घटनाप्रति अनेरास्ववियू खुशी प्रकट गर्दछ। समानताको पक्षमा बोल्दा सरकारी दमनको शिकार बन्नुपरे पनि नडगमगाएको बंगलादेशको विद्यार्थी आन्दोलनको अनेरास्ववियू उच्च प्रसंशा गर्न चाहन्छ। विद्यार्थीको शक्तिका सामु जस्तासुकै तानाशाहको पराजय निश्चित हुन्छ भन्ने यो एक अर्को ऐतिहासिक उदाहरण बनेको हाम्रो संगठनको निष्कर्ष छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सरकारी सेवाको आरक्षण खासगरी निम्नवर्गीय समुदायका लागि हुनुपर्ने विद्यार्थी संगठनहरुको मागमा हाम्रो सुरुवात देखि नै ऐक्यबद्धता छ। यही सन्दर्भमा सुरु भएको आन्दोलनपछी सरकारले मच्चाएको बर्बरताको जति निन्दा गरे पनि कमै हुन्छ। हाम्रो संगठन यस आन्दोलनमा ज्यान गुमाउनु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछ।
अनेरास्ववियू विद्यार्थी आन्दोलनको रापबाट एउटा निरंकुश सरकार सत्ताच्युत भए पनि पुनः सेनाले सत्ता हातमा लिनुले झन खतरनाक तानाशाहको जन्म हुनसक्ने सम्भावना प्रति भने सचेत हुन बंगलादेशी आम विद्यार्थी र जनसमुदायलाई अनुरोध गर्दछ। हामी बंगलादेशको विद्यार्थी आन्दोलनले उठाएको न्याय र समानताको मागको सम्बोधन हुनुपर्ने पक्षमा छौं। अझ यसरी समानताको लडाइँमा होमिएका विद्यार्थीहरुको जीवन रक्षाका लागि गम्भीर बनिदिन विश्व समुदाय समक्ष अपील गर्दछौँ।’
तपाईको बिचार