एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

841

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक साउन १० गते आज बिहिबार बिहान ११ बजे पार्टी मुख्यालय आलोकनगरमा बस्ने भएको हो। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ।

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसलाई मुख्य आधार बनाएर नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने महासचिव घनश्याम भुसालले बताए । पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन्।

असार १६ देखि २० को महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो ।

केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ ।
पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपमहासचिव, सचिवका साथै केन्द्रीय सदस्यमा पदभन्दा बढी नेता आकांक्षी भएपछि सहमति जुट्न नसकेको हो । केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लगाउने निर्णय भएको छ ।

‘पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी बढी भएकाले मिलाउन बाँकी छ,’ नेता जगन्नाथ खतिवडाले भने, ‘अब नयाँ केन्द्रीय कमिटी बैठकले टुंगो लगाउने छ ।’ वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिव सहित १९ पदाधिकारी र २ सय ६ केन्द्रीय सदस्य चयन गर्नुपर्ने उनले भने ।
बाँकी सदस्य आगामी १० दिनभित्र पूर्णता दिने बताए पनि अधिवेशन सकिएको लामो समय वितिसक्दा पनि सदस्यहरुको नाम घोषणा गर्न सकेको छैन ।

समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।
एकीकृत समाजवादी०मा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित भएको छ । पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू ९, मुस्लिम ६, अल्पसङ्ख्यक ३ र अपाङ्गता भएका व्यक्ति २ प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

समावेशीकरणको सिद्धान्तअनुसार समावेशी महिला र समावेशी खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ । युवा, प्रौढ र वृद्धको सहभागितालाई सुनिश्चितता गरेको पार्टीले हरेक तहको कमिटीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी र बढीमा दुई कार्यकाल मात्र कार्यकारी प्रमुख रहने व्यवस्था छ ।

अब केन्द्रीय सदस्य हुन व्यक्ति कुनै समुदाय, लिङ्ग वा उमेर समूहको भएर मात्र पुग्दैन । विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीचको लोकप्रियतालाई आधार बनाइएको छ । यो व्यवस्था विधानको अपरिवर्तनीय धाराका रूपमा राखिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर