आइतबार देशभरका सामुदायिक क्यामपसहरु बन्द गर्ने निर्णय

आइतबार देशभरका सामुदायिक क्यामपसहरु बन्द गर्ने निर्णय

1787

काठमाडौँ, १ असार । नेपाल पब्लिक क्याम्पस संघले बाराको कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरेको घटनाको छानबिनमा दबाब दिन आइतबार देशभरको सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ ।

कुशवाहाको शुक्रवार अज्ञात समूहले घरबाट मोटरसाइकलमा कलैया फर्कने क्रममा आदर्श कोतवाल गाउँपालिका–३ बतरा गाउँको दक्षिणमा रहेका लंगहासन माई मन्दिर अगाडि गोली हानी हत्या गरेका थिए । गोली लागि गम्भीर घाइते भएका कुशवाहको उपचारका क्रममा वीरगन्जस्थित ब्योधा अस्पताल मृत्यु भएको थियो ।

यो घटनाको संघले दोषीलाई यथाशीघ्र कानुनी कठघरामा ल्याई कारबाही गर्न सरकारलाई माग गरेको छ । ‘बाँच्न पाउने नागरिकको मौलिक हकको सम्मान सबै पक्षबाट जिम्मेवारीपूर्वक निर्वाह गरियोस् र यसको सुनिश्चितताको प्रत्याभूतिप्रति सरकार गम्भीर बनोस् भनी ध्यानाकर्षण गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाउन घटाइएका यो घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन त्रिभुवन विश्वविद्यालय लगायत सम्बन्धित सबै निकायलाई अपिल गर्दछौँ । आगामी दिनमा यस्ता अमानवीय घटनाको पुनरावृत्ति नहोस् र राज्य तथा अन्य सम्बन्धित निकायको ध्यानाकर्षणका लागि नेपाल पब्लिक क्याम्पस संघले देशभरिका आफ्ना सबै सदस्य सामुदायिक क्याम्पसहरूको पठनपाठन आइतबारका दिन बन्दको आह्वान गर्दछ ।’ संघले सबै सामुदायिक क्याम्पसहरूलाई नियमित पठनपाठन बन्द गरी शोक मनाउन अनुरोध गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर