काठमाडौँ,२२ जेठ । सतारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न मन्त्रीहरुलाई चेतावनी दिएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन नगर्न चेतावनी दिएका हुन् । उनले मन्त्रालयको बजेट आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै केन्द्रित नगर्न आग्रह गरे । मानव सूचकांकमा पछि परेका जिल्ला र पालिकाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने उनले बताएका छन् ।
उनले भने, ‘धेरै वर्षदेखि निरन्तर निर्माणाधीन रणनीतिक सडकहरु, निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक, वैकल्पिक लोकमार्गहरु चालु आर्थिक वर्षमा बजेट अभावकै कारणले निर्माण कार्य ठप्प भएका छन् । यो आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र वैकल्पिक लोकमार्गहरुलाई स्टमेट अनुसारकै बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो पटकको बजेटमा मन्त्री ज्यूहरुले आफ्नो निर्वाचन क्षेत्रलाई नै देश ठानेर बजेट विनियोजन गर्नु हुने छैन र रातो किताव ल्याउनु हुने छैन । सिंगो मानव सूचकांककै आधारमा पछि परेका जिल्ला र पालिकाहरुलाई केन्द्रमा राखेर साधन, स्रोतको न्यायोचित वितरण गरेर रातो किताव आउने छ । मन्त्रालयस्तरीय बजेटको किताव आउनेछ भन्ने अपेक्षा छ ।’
तपाईको बिचार