अन्तर प्रदेश राष्ट्रिय खेलकुद : ब्याडमिन्टनमा कोसी प्रदेशको वर्चस्व

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : ब्याडमिन्टनमा कोसी प्रदेशको वर्चस्व

965
फाइल फोटो

चितवन, २९ चैत । चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा कोसी प्रदेशले वर्चस्व जमाएको छ ।

भरतपुर कवर्डहलमा आज सम्पन्न फाइनल खेलमा सात इभेन्टस्मध्ये चार इभेन्टस्मा कोशीले स्वर्णपदक जितेको छ । महिला सिङ्गलतर्फ कोसीकी सीमा राजवंशीले स्वर्णपदक जित्नुभयो भने मिक्स डबलमा कोशीका विशाल तामाङ र सीमा राजवंशीको जोडीले स्वर्णपदक जित्नुभयो । पुरुष र महिला टिम इभेन्टमा पनि कोसी प्रदेशले नै स्वर्णपदक जितेको छ ।

पुरुष डबलतर्फ गण्डकीलाई विशाल खड्का र सुजन थापाको जोडीले स्वर्णपदक दिलायो भने महिला डबलतर्फ दिलासा राना र तिलमाया रानाले गण्डकीलाई स्वर्णपदक दिलाउनुभयो । वाग्मती प्रदेशका लागि एकमात्र स्वर्णपदक पुरुष सिङ्गलतर्फ राजु गरञ्जाले दिलाउनुभयो । उहाँले फाइनल प्रतिस्पर्धामा गण्डकीका सुजन थापालाई पराजित गर्दै स्वर्णपदक जित्नुभएको हो । विजेताहरुलाई आजै पुरस्कार प्रदान गरिएको छ ।

तपाईको बिचार