काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मुख्य संवाहक रहेको र आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गरिरहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणासभा एवम् उद्योग वाणिज्य दिवस २०८० का अवसरमा प्रधानमन्त्री दाहालले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई सङ्कटबाट मुक्त गर्दै विकासको लक्ष्य हासिल गर्न सरकारसँग मिलेर काम गर्ने सङ्कल्पका लागि आह्वान गर्नुभयो । लगानीमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । राज्य र निजी क्षेत्रबीच सहकार्यका आधारहरु समृद्धि र विकासको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सरकार दृढ रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
त्यस्तै, लगानी बढाउन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रले देशमा उत्पादन बढाउनुका साथै आवश्यक वस्तु तथा सेवाको आपूर्तिका क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । तीनवटै तहका सरकारले नीति निर्माणमा निजी क्षेत्रसँग सहकार्य गर्दै आएको पनि प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।
नेपालले सन् २०२६ भित्रमा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नेगरी अघि बढिरहेकोमा सबै क्षेत्रको सहकार्यमा द्रुत र सन्तुलित विकासका लागि सरकार केन्द्रित भइरहेको पनि उहाँले बताउनुभयो ।
मुलुकको विकास आकांक्षा पूर्ति गर्नका लागि सरकार र निजी क्षेत्र दुवै क्षेत्रबाट हुने लगानी बढाउन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । आगामी वैशाखमा हुने लगानी सम्मेलन आयोजना गर्ने तयारी सरकारले गरिरहेकोमा सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस् तयारीसहित अगाडि बढिरहेको पनि दाहालले बताउनुभयो ।
“देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन हाम्रा नीति, सोच, संरचना र कार्यशैलीमा धेरै सीमा छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्र्याउन प्रतिकुल देखिएका ऐन संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाको तयारी गरिरहेको छ । यसले लगानीका नयाँ क्षेत्र पहिचानसँगै लगानी भित्र्याउन सहयोग गर्ने अपेक्षा हामीले गरेका छौँं”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
तपाईको बिचार