राखेपको स्वीकृतिबिनै एन्फा कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान

राखेपको स्वीकृतिबिनै एन्फा कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान

971

काठमाडौँ, ७ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान गरेका छन्।

फिफा विश्वकप २०२६ तथा एशियन कप २०२७ छनोटअन्तर्गत घरेलु टोली बहराइनसँग चैत ८ र १३ गते हुन लागेको खेल हेर्न उनीहरू मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

बहराइन जानेमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट , उदयपुर जिल्ला फुटबल संघका अध्यक्ष रञ्जन कार्की, झापाका शेरबहादुर बस्नेत र श्री भगवती क्लबका राजकाजी श्रेष्ठ, जिल्ला सदस्य डोलेशकुमार केसी, महेशचन्द्र महत र भरतबहादुर क्षेत्री रहेका छन्। राखेपले अनावश्यक रुपमा आर्थिक भार पर्ने भन्दै ८ प्रतिनिधिको भ्रमण नगराउन एन्फालाई निर्देशन दिएको थियो । तर एन्फाले राखेपको निर्देशन लत्याउँदै आफ्ना ८ प्रतिनिधिलाई बहराइन पठाएको छ ।

हाल बहराइनमा रहेको राष्ट्रिय फुटबल टोलीको हौसला बढाउन भन्दै एन्फाले अनावश्यक रुपमा थप आठ जनालाई बहराइन पठाएको हो ।बहराइनमा रहेको टोलीसहित अन्य गरी ४१ सदस्य टोलीको सहभागिताका लागि स्वीकृति दिनका लागि एन्फाले राखेपमा बिहीबार पत्राचार गरेको थियो ।

तर राखेपले बहराइन पुगेको फुटबल टोलीसहित डा. राजु डंगोल र मिडिया अफिसर गोविन्दराज नेपाललाई मात्र र सहभागिताको लागि स्वीकृति दिएको थियो ।

तपाईको बिचार