नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्कले

नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्कले

936

काठमाडौँ, ५ चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन्। भारतको नयाँ दिल्लीमा आइतबार सम्पन्न वुमन्स प्रिमियर लिगको फाइनमा सहभागी भएर बार्कले सोमबार अपरान्ह्र नेपाल आइपुगेका हुन्।

बार्कलेलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरेका थिए। क्यानका अनुसार उनले चार दिन नेपाल भ्रमण गर्ने छन्।

बार्कलेको नेपाल भ्रमण नेपाली खेलकुद विकासको अवसरका रुपमा रहने क्यानले जनाएको छ। नेपाल भ्रमणको दौरान त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको उनले निरीक्षण गर्नेछन्। सो दौरान उनले प्रधानमन्त्री, अर्थमन्त्री, खेलकुदमन्त्री लगायतलाई भेट गर्ने तालिका रहेको क्यानले जनाएको छ।

नेपालले २०२७ मा आईसीसी वुमन्स यु-१९ विश्वकप आयोजना गर्दैछ । त्यसको लागि उनले मूलपानी र टीयूको मैदान निरीक्षण गर्नेछन् ।

तपाईको बिचार