गोकर्णेश्वर नगरपालिकाः महिला ‘अधिकारलाई अवसर’मा रुपान्तरण गर्दै

गोकर्णेश्वर नगरपालिकाः महिला ‘अधिकारलाई अवसर’मा रुपान्तरण गर्दै

353

काठमाडौँ, २४ फागुन । विभिन्न चरणका आन्दोलनबाट महिलाको हक र अधिकारलाई संविधानमा समेटियो । सैद्धान्तिक रुपमा समाज रुपान्तरणको मार्गचित्र तयार गरियो । अहिले सोही मार्गचित्रको आधारमा अवसरका ढोकाहरु खुल्ला गर्न संघीय, प्रदेश तथा स्थानीय तहहरु लागि परेका छन् । महिला अधिकारलाई अवसरमा रुपान्तरणको अभियान नै चलिरहेको छ । जसमा ऐतिहासिक सफलता प्राप्त गर्ने गर्नेमात्र नभई अन्य स्थानीय तहहरुलाई अनुकरणीय कार्य गर्न गोकर्णेश्वर नगरपालिका सफल भएको छ ।

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ आज नगरपालिकाको कार्यालयमा आयोजना गरिएको ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाको आर्थिक, सामाजिक सशक्तीकरणको लागि लगानी सुनिश्चितता अभिवृद्धि गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बोलेरभन्दा पनि दिल खोलेर महिलामैत्री कार्यहरु गर्नुपर्नेमा जोड दिइएको छ । सभ्य र समुन्नत समाज निर्माणको लागि महिला र पुरुषबीच हुने विभेदलाई अन्त्य गर्न आर्थिक सशक्तीकरण तथा क्षमता अभिवृद्धिमा जोड दिइयो । सांस्कृतिक धरोहरको समृद्ध सहर, धार्मिक, मौलिक र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगरपालिकाको लक्ष्यलाई पुरा गर्न टोल टोलमा महिलाको नेतृत्वदायी भूमिका हुनेपर्नेमा जोड दिइएको छ । सहभागी महिलाहरुले नगरपालिकाले चलाएको महिलामैत्री कार्यक्रमहरुले क्षमता वृद्धिमात्र नभई आत्मनिर्भरताको शुरुवाती भइरहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख दिपक कुमार रिसालले नगरापलिकाले महिलाको क्षेत्रमा ऐतिहासिक कार्यहरु गरेको उल्लेख गर्नुभयो । स्वास्थ्य, शिक्षा, रोजगारी, व्यापार व्यवसाय, तालिम तथा विभिन्न प्रकारका महिलामैत्री अवसरका कार्यहरु नगरपालिकाले गरिरहेको उल्लेख गर्दै उहाँले नगरपालिकाले गरेका महिलामैत्री स्वास्थ्य उपचारका कार्यहरु स्वदेशमा मात्र नभई विदेशमा समेत अनुकरण गर्न थालेको दावी गर्नुभयो । नगरका जनप्रतिनिधि तथा कर्मचारीहरुको नेतृत्वमा स्थानीयवासीको सहयोगकै कारण उत्कृष्ट नगरपालिकाबाट पुरस्कृत हुन सफल भएको उल्लेख गर्नुभयो ।

‘नगरपालिका क्षेत्रमा तीनसय ५० वटाभन्दा बढी महिला समुहहरु बनाएका छौं । जुन नेपालका कुनै पनि स्थानीय तहहरुले बनाउन सकेका छैनन्’, उहाँले भन्नुभयो, ‘महिला सशक्तीकरणको लागि रोजगारी र आर्थिक क्षेत्रसँग जोडेर नगरपालिकाले नीतिगत रुपमा नै अगाडी बढिरहेका छ । जसले गर्दा महिला हेपिने र दविने हैन, अब्बल र दक्ष बनेर समाज रुपान्तरणको नेतृत्व गर्न निर्धक्कका साथ अगाडी बढ्ने अवस्था हाम्रै पालामा बनाउनेछौं ।’

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले महिला सृष्टिकर्ता रहेको उल्लेख गर्दै मातृसतात्मक सिद्धान्तको आधारमा राज्यको उत्पत्ति भएको उल्लेख गर्नुभयो । विभिन्न चरणको राजनीतिक आन्दोलनले महिलाको हक अधिकार स्थापित भएको उल्लेख गर्दै उहाँले अबका दिनमा स्थापित अधिकारलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘आधा धर्ती ओगट्ने महिलाले अब अधिकार र अवसर मागेर हैन, खोसेर लिनुपर्छ । महिला चुलो चौकोमा सिमित हुने हैन, राज्यको नेतृत्वकर्तामा पुग्नुपर्छ, अवसर पाउनुपर्छ । संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा लैजानुपर्छ । यसो भनिरहँदा देशका दुरदराजमा महिला हिंसा, बलात्कार, विभिन्न प्रकारका धार्मिक तथा सांस्कृतिक परम्पराका नाममा महिलालाई पीडित बनाउने गरेको पाइन्छ । त्यसलाई सवैले मिलेर अन्त्य गर्नुपर्छ । महिला हिंसाको अन्त्य नै आर्थिक सशक्तीकरण हो, रोजगारी हो, अवसर हो, जनचेतना हो । महिलाले संवैधानिक रुपमा प्राप्त ३३ प्रतिशत अधिकारलाई स्थापित गराउने तीनवटै तहका सरकारको समन्वयमा राष्ट्रिय महिला आयोगले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । तपाईहरुको साथमा जहिले पनि हाजिर हुनेछ ।’

नगरपालिकाको उपप्रमुख सान्नानी लामाले महिलालाई अधिकार प्राप्त भएको छैन भन्दा पनि अधिकारको प्रयोग कुन रुपले गरिरहेका छौं भन्ने विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । महिला भनेको समाज रुपान्तरणको ऐना भएको उल्लेख गर्दै उहाँले संविधानले दिएको अधिकारलाई निर्वाचनमा गठबन्धनका कारण खोसिएको प्रति दुःख व्यक्त गर्नुभयो । प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख, राष्ट्रपति वा उपराष्ट्रपतिलगायतका महत्वपूर्ण पदहरुमा दुई मध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था रहेको स्मरण गर्दै प्राप्त अधिकारलाई कसैले पनि कुल्चने कार्य गर्न नहुने धारणा राख्नुभयो । समाजमा पुरुषले महिलालाई नकारात्मक रुपमा हेर्ने भन्दा पनि बढि समस्या महिलाले महिलालाई नै विभेद गर्ने गरेको घटनाहरु रहेको बताउनुभयो । महिला हिंसा र अधिकार स्थापित गर्न महिला र पुरुष एकै ठाउँमा भएर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

तपाईको बिचार