नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु : प्रधानमन्त्री दाहाल

नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्छु : प्रधानमन्त्री दाहाल

911

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफु नियन्त्रण र निर्देशनमा होइन, निर्विकल्प लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने बताउनुभएको छ । लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको आधारभूत मान्यतालाई आत्मसात् गरिएका विषयवस्तुहरू नेपाल टेलिभिजनमा देख्न चाहन्छु प्रधानमन्त्रीले भन्नुभयो ।

देशकै पहिलो टेलिभिजनले सूचना तथा सञ्चार क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आफ्ना उत्पादन र प्रसारणलाई नयाँ प्रविधितर्फ व्यापकरूपमा स्थापित गर्न ढिला गर्नुहुँदैन भन्नुभयो ।

आम दर्शकको रूचिमा आधारित भएर विषयवस्तु तयार पार्नुपर्नेमा जोड दिँदै उहाँले संस्थानको विकासका लागि दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्न नेपाल टेलिभिजनलाई सुझाव दिनुभयो । टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरेर सार्वजनिक सेवा प्रसारण संस्था बनाउने गरी संसद्मा पेस गरिएको विधेयकमा समायानुकूल परिमार्जनसहित पारित गर्ने तयारी गरिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “आगामी दिनका लागि सकारात्मक प्रभाव पार्ने योजनाको सङ्कल्प तयार गर्नुहोस्, यसमा मेरो र सरकारको सहयोगी भूमिका रहनेछ ।”

डिजिटल प्लेटफर्म र इन्टरनेटको पहुँच भएका दर्शकका रूचिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “टेलिभिजन भनेको ‘प्रविधि र प्रतिभा’को संयोजन हो । प्रविधिमा आएको परिवर्तनले दर्शकले एक दशकअघिको समयजस्तो कार्यक्रम र टेलिभिजन च्यानललाई कोठाको टिभी सेटमा कुरेर बस्ने छैनन् ।” उहाँले दर्शकको रूचि र अनुकूल प्रविधिमा हेर्ने सुविधाको सुनिश्चितता गर्ने तथा उच्च व्यावसायिकता र सृजनशीलता अपनाउन पनि सुझाव दिनुभयो ।

तपाईको बिचार