भक्तपुर, २९ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा आफ्नो तथा तीन वटै तहमा एमालेको नेतृत्वका कालमा भक्तपुरको विकासले ऐतिहासिक स्वर्ण युग पाएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकार र नगरपालिकाको सहकार्यमा दुई करोडको लागतमा शनिवार अरनिको राजमार्गको आदर्श चोकबाट सिपाडोल सूर्यविनायक नगरपालिका– ८ वडा कार्यालय हुँदै दोर्लाङ्ग घ्याम्पे डाँडा जाने सडकको दोस्रो खण्ड निर्माण र कालोपत्रे गर्ने कार्यको शिलान्यास गर्दै नेता बस्नेतले अहिले संघमा एमालेको पराजयले जिल्लाको विकास र समृद्धिमा ठेस लागेता पनि आफ्नै पहलमा विकासको अभियान निरन्तर चल्ने दावी गर्नुभयो । आफु पराजय भएकाले केही मात्रामा विकास निर्माणका लागि बजेट व्यवस्थापनमा केही समस्या भएता पनि भक्तपुरको विकास नरोकिने स्पष्ट पार्नुभयो । विकास निर्माणमा राजनीतिभन्दा माथि उठेर सामाजिक कार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले अहिले भक्तपुरले पठाएको जनप्रतिनिधिले जिल्लाको विकासको लागि एक पैसा पनि बजेट नल्याएको भन्दै आलोचना गर्नुभयो ।
उहाँलले भन्नुभयो, ‘यो सडकमा संघीय सरकारबाट पहिलो चरणमा चार करोड विनियोजन गरी काम भयो । त्यसपछि दोस्रो चरणको लागि नौं करोड बजेट व्यवस्थापन भएको थियो । तर विडम्बना अहिलेको गठबन्धनको सरकार बनेसँगै उक्त बजेट काट्यो । भक्तपुरमा २२ वटा मध्ये ६ वटा सिपाडोलका सडकको बजेट काटियो । यसको ठूलो क्षती यहाँका जनतालाई नै पर्यो । चुनावमा पनि अपेक्षित परिणाम आएन । काठको मुडो जस्तोलाई जिताएर पठाएकाले भक्तपुरको विकासमा पाँच वर्ष हैन, १०औं वर्ष ढिला भयो भनेर जनताले भन्न थाल्नुभएको छ । केही ढिला भयो होला तर पनि विकासमा अध्यारो हुन दिन्नौं । प्रदेश तथा स्थानीय तहमा हामीले नेतृत्व गरिरहेका छौं । संघमा पनि आवश्यकता अनुसार पहलकदमी लिन कुनै समस्या छैन ।’
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सो सडकमा नगरपालिकाले ६०र४० को अवधारणा अनुसार ढल निर्माण लगायतका काम गरिएको जानकारी दिनुभयो । विकास निर्माणको कार्य सम्पन्न भएको २४ घण्टा वित्न नपाउँदै नगरपालिकाले भत्तानि गर्ने प्रतिवद्धता जनाउँदै निर्माण कार्यलाई दिगो, गाुणस्तरीय तथा प्रभावकारी ढंगले गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्षता वडाध्यक्ष पुष्पराज बस्नेतले गर्नुभएको थियो । उहाँले वर्तमान कार्यकालमा सडक निर्माणमा जनतालाई आवश्यक पर्ने न्युनतम सडकहरु निर्माण गरिसक्ने प्रतिवद्धता जनाउनुभयो । शिलान्यास तथा उद्घाटनले जनतासँग प्रत्यक्ष सम्पर्क गर्ने माध्यम समेत भएकाले स्थानीयवासीले विशेष उत्साहजनक सहभागिता जनाउन र आफुलाई लागेका कुराहरु नेतृत्वलाई जनाकारी गराउनु समेत आग्रह गर्नुभयो ।
तपाईको बिचार