एमाले बलियो हुँदामात्र लोकतन्त्र सुदृढ हुन्छ: पूर्वमन्त्री बस्नेत

एमाले बलियो हुँदामात्र लोकतन्त्र सुदृढ हुन्छ: पूर्वमन्त्री बस्नेत

823

धनगडी, २७ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राजनीतिक स्थिरता र समृद्धिको लागि दुई दलीय व्यवस्था सवैभन्दा उत्कृष्ट हुने बताउनुभएको छ ।

आज राष्ट्रिय युवा संघ नेपाल सुदुर पश्चिम प्रदेश कमिटीको बैठकमा बोल्दै नेता बस्नेतले हिजो के थियो भन्दा पनि अबको आवश्यकता र परिस्थिती अनुसार राजनीतिक व्यवस्थालाई रुपान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभयो । बहुदलीय व्यवस्थाका कारण साना साना राजनीतिक दलहरुले मागि खानेभाँडोको रुपमा प्रयोग भएको प्रति संकेत गर्दै उहाँले एक पटकलाई जनताको भावनालाई बुझ्नको लागि पनि नो भोटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । धेरै दलकै कारण विकास र समृद्धि हुन नसकेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थिरता भए विदेशी शक्तिराष्ट्रहरुले स्वार्थको लागि नेपाललाई प्रयोग गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

‘वर्तमान व्यवस्थालाई समिक्षा गरौं भनेका छौं । दुई दलीय व्यवस्थामा लाने हो भने सवैभन्दा उत्कृष्ट हुन्छ, राजनीतिक स्थिरता हुन्छ’, उहाँले भन्नुभयो, ‘अहिले हेरौं त ३२ सीटे प्रचण्ड प्रधानमन्त्री छन् । यीनि यति धेरै पीपलपाते छन् कि उनी हल्लिनेको सीमा नै छैन । प्रचण्ड छेपारो जस्तै हुन् । मौसम फेर्यो कि रंग परिवर्तन गर्छन् । विहानदेखी बेलुकासम्म कति पटक रंग फेर्छन्, थाहै छैन ।’

एमाले नेतृ्त्वको ४० महिने सरकारको कार्यकालको चर्चा गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले अहिलेको गठबन्धको सरकारका कारण मुलुकमा अस्थिरता, भ्रष्टाचार, कुशासन, अनियमितता, न्यायपालिका नै आफ्नो विभाग जस्तै बनाउने कार्य भइरहेको भन्दै आक्रोस जनाउनुभयो । गठबन्धको रवैयाका कारण मुलुकमा स्वार्थकेन्द्रीत विदेशी राष्ट्रहरुले खेलमैदान बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले एमालेलाई कमजोर बनाउन नियोजित रपमा षड्यन्त्रहरु भइरहेका दावी गर्नुभयो । एमाले दरविलो भएमात्र मुलुकमा चलखेल बन्द हुने भएकाले अबका दिनमा जनताकेन्द्रीत कार्यहरु गर्न संघका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले बलियो हुँदा लोकतन्त्र सुदृढ हुन्छ, समृद्धि हुन्छ, विकास हुन्छ, भ्रष्टाचार नियन्त्रण हुन्छ, सरकारी निकायहरु प्रभावकारी रुपमा अगाडी बढ्छन्, समाजिक सद्भाव कायम हुन्छ, अतिवादी शक्तिहरुको अन्त्य, धार्मिक सद्भाव कायम हुन्छ । त्यही भएर एमाले कमजोर नबनाएसम्म नेपालमा अस्थिरता ल्याउन सकिँदैन भने एमालेको विरुद्ध राष्ट्रिय तथा अनतर्राष्ट्रिय मिसनरी शक्तिहरु लागि परेका छन् । त्यसको बारेमा तथा एमालेले सरकारको नेतृत्व गर्दा गरेका राम्रा कार्यहरु जनताको माझमा पुर्याउन संघका कार्यकर्ताहरु लाग्नुपर्छ । प्रविधिको अधिकतम करात्मक प्रयोग गर्नुपर्छ ।’

गलत र अन्यायपूर्ण सम्झौता एमालेले नगर्ने सन्देशको रुपमा राष्ट्रियसभाको निर्वाचनमा प्रचण्डको प्रस्तावलाई एमालेले अस्वीकार गरेको जानकराी गराउँदै उहाँले टीआरसी विधेयक आफ्नो स्वार्थमा पारित गराउने रणनीति रहेको औंल्याउनुभयो । एमालेलाई शान्त बनाउन प्रचण्डको अनुचित प्रस्ताव आएपनि अनुचित भागबण्डमा नलाग्ने स्पष्ट पार्दै उहाँले एमाले छिमेकी दुई देशको सन्तुलित सहकार्यको माध्यमबाट नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने नीतिका साथ अगाडी बढिरहेको बताउनुभयो । अवसरलाई सदुपयोग गर्न नसक्दा स्थापित नेतृत्व पनि विस्तापित हुन सक्ने चेतावनी दिँदै उहाँले उक्त कुरामा युवा संघका नेता तथा कार्यकर्ताहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मानिस मानिसमा क्षमता फरक फरक हुने उल्लेख गर्दै उहाँदे भन्नुभयो, ‘त्यसको लागि संसार बदल्नु छ भने आफैबाट शुरु गर्नुपर्छ । हामी पनि एक आफुसँग भएको क्षमतालाई विकास गर्ने हो । हामीले आफैबाट परिवर्तन शुरु गर्ने हो ।’

संसारको कुनै पनि ठाउँमा सत्तापक्षले प्रतिपक्षी दललाई घेराबन्दी भएको उदाहरण नभएको उल्लेख गर्दै उहाँले नेपालमा सत्ता गठबन्धनले एमालेलाई घेराबन्दी गरेर गठबन्धन कति कमजोर छ भन्ने आफ्नो हैसियत प्रमाणीत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी किन कम्युनिष्ट पार्टीमा लाग्यौं ? आज हामीविरुद्ध किन घेरावन्दी भइरहेको छ ? संसारमा कहि पनि छैन कि प्रमुख प्रतिपक्षी दललाई सत्तागठबन्धनका दलहरुले घेरावन्दी गरेको । पुष्टि गर्न नसक्ने आरोपहरु हामीलाई सत्तापक्षले लगाइरहेको छ तर पुष्टि हुने कुनै पनि आधार नै छैन । सत्तापक्षको लाचारीपनका कारण जनताले न्याय नपाएर न्यायपालिकाको विरुद्ध आन्दोलनमा जानुपर्ने स्थिती बेनको छ । सत्तापक्ष अनुकुलताका अपराधीहरुलाई छुटाउने कार्य गर्छन । सन्दीप लामिछानेजस्ता होनहार युवाहरुलाई अपराधी करार गरिदैछ । एमालेलाई कमजोर नबनाएसम्म राष्ट्रियता कमजोर बनाउन सकिँदै भनेर साम्राज्यवादी, सामन्तवादी तथा पूँजीवादीहरुले बुझेका छन् । त्यही भएर एमाले कमजोर बनाउन चाहन्छन् ।’ कार्यक्रममा संघका महासचिव सुमन पुरीलगायतले संगठनको आगामी रणनीति, कार्यभार र रणनीतिको बारेमा धारणा राख्नुभएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर