ठगी मुद्दामा वडा सदस्यसहित ४ जना पक्राउ

ठगी मुद्दामा वडा सदस्यसहित ४ जना पक्राउ

73

पोखरा, २३ मंसिर । ठगी गरेको आरोपमा पोखरा वडा नम्बर ६ का सदस्य सहित ४ जना पक्राउ परेका छन् । लेकसाइडको फुटट्रयाकमा फोटोग्राफी गरे बापत व्यवसायीहरूसँग धम्क्याएर प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएको आरोप उनीहरूलाई छ ।

पक्राउ पर्नेमा वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारी, पोखराको लेकसाइड बस्ने २४ वर्षका अभिषेक परियार, २२ वर्षका प्रवीन विश्वकर्मा र ४१ वर्षका विकास पहारी छन् । उनीहरुले फुट ट्र्याकमा फोटो खिच्नेहरू १५ जनासँग १३ हजार ५ सयका दरले उठाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । व्यवसायीहरूले नै उनीहरू विरुद्ध जाहेरी दिएका प्रहरीले जनाएको छ । उनीहरू विरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

अहिले लेकसाइडमा फोटो भिडियो खिचेर दैनिकी चलाउनेहरू दर्जनौँ छन् । उनीहरुले व्यवसाय दर्ताका लागि वडामा जाँदा व्यवसाय दर्ता नगरी उल्टै वडा सदस्यले ठगी गरेको आरोप छ ।

तपाईको बिचार