दुर्गा प्रसाईंको अस्पतालद्वारा बिरामीमाथि गम्भीर खेलवाड

दुर्गा प्रसाईंको अस्पतालद्वारा बिरामीमाथि गम्भीर खेलवाड

1047

झापा, २८ कार्तिक। झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालले उपचार गराइरहेका १० जना जलनका बिरामीलाई थप उपचार गर्न काठमाडौं लैजान अवरोध गरेको छ । उर्लाबारीमा भएको आगोलागीमा परी घाइते भएर अस्पतालमा उपचार गराइरहेका १० जना सिकिस्त छन् ।

सो अस्पतालमा उर्लाबारी- ७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौलाको पनि गम्भीर अवस्थामा उपचाररत छन् ।

दुर्गा प्रसाईंले सञ्चालन गरेको उक्त अस्पतालले उपचारमा लागेको खर्च नतिरेसम्म बिरामी अन्यत्र लैजान नदिने भन्दै रिफर गर्न आकानाकानी गरेको छ । उनीहरुलाई कोशी प्रदेश सरकारको समन्वयमा काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजाने तयारी भए पनि बीएण्डसीले उपचार गर्दा लागेको खर्च जम्मा गर्न भन्दै आएको छ ।

अस्पतालले घाइतेलाई निकाल्न अवरोध गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आज बिहान आफैं बीएन्डसी अस्पताल पुगेका छन् । अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले उपचाररत बिरामीको उपचार खर्च बुझाएरमात्र लैजान भनेपछि मुख्यमन्त्री कार्की र प्रसाईंबीच विवादसमेत भएको छ । प्रसाईंले ‘सबै खर्च बुझेर मात्र डिस्चार्ज गर्ने’ भनेपछि मुख्यमन्त्री कार्कीले ‘बिरामीको ज्यान दायाँबायाँ भए प्रहरी लगाएर थुनाइदिने’ चेतावनी दिएका छन् ।

मुख्यमन्त्री कार्कीले प्रसाईंसँग विवाद भएको तर उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । संकटको बेला पैसाभन्दा पनि मानवीय चरित्र र सहयोगी भावना देखाउन आफूले प्रसाईंलाई सम्झाएको कार्कीले बताए । उनले भने, ‘प्रक्रियागत कारणले केही समय लाग्नसक्छ । उपचार खर्च प्रदेश सरकारले गर्ने हो ।’

लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी- ७ स्थित दीपक कार्कीको घरमा अवस्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना जलेर घाइते भएका थिए । तीमध्ये विराटनगरका विभिन्न अस्पतालमा उपचाररत १४ जनालाई हिजो बर्न अस्पताल कीर्तिपुर पठाइएको थियो ।‌

तपाईको बिचार