युट्युवर मनोज मानवलाई काउन्सिलले थाल्यो कारवाही

युट्युवर मनोज मानवलाई काउन्सिलले थाल्यो कारवाही

3439

काठमाडौँ, २१ कार्तिक । व्यक्तिको जीवनमा गम्भीर असर पर्ने गरी भ्रामक समाचार संम्प्रेषण गर्ने युट्युवर मनोज मानवलाई प्रेस काउन्सिल नेपालले कारवाही प्रकृया अगाडी बढाएको छ । युट्युवर मनोजले केही दिन अघि आफुले बार्गेनिङ गरेको रकम नपाएपछि नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतसँग एक महिलाको अनैतिक सम्बन्ध रहेको भनि सामाजिक सञ्जालमा भिडियो इडिट गरी भ्रामक तथा कपोकल्पित भिडियो सार्वजनिक गरेका थिए । उक्त महिलोको टिकटक भिडियोसँग नेता बस्नेत बस्नेतको पुरानो फोटो जोडेर इडिट गरी भिडियो बनाई उनले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सोही विषयलाई लिएर नेता बस्नेतको सचिवालय सदस्यले काउन्सिलमा दिएको उजुरीको आधारमा युट्युवर्स मनोजलाई कारवाहीको प्रकृया अगाडी बढाएको हो । कल्पना समेत गर्न नसकिने कुरालाई जोडेर मनोजले चरित्र हत्या गर्न खोजेको बताइएको छ । युट्युवर्स मनोजले सामाजिक सञ्जाल तथा प्रविधिको चरम दुरुपयोग गरी कानुनी राज्यको उपहास गरिएको बताइएको छ । उजुरीमा भनिएको छ, ‘सामाजिक सञ्जाल तथा प्रविधिको चरम दुरुपयोग गरी मेरोविरुद्धमा युट्युवर्स मनोज मानवले गलत तथा भ्रामक प्रचार गरेका छन् । नियोजित रुपमा गरिएको प्रचारमा कुनै सत्यता छैन । एक महिलाको टिकटक भिडियोमा मेरो पुरानो तस्विर जोडेर बनाइएको भिडियो पत्रकारको आवरणमा अपराधिक कार्य हो ।’

त्यस्तै युटुवर्स मनोजले सोही विषयलाई लिएर ३० लाख रुपैंया मागेको उजुरीमा उल्लेख गरिएको छ । मनोजले नेता बस्नेतलाई ३० लाख रुपैंयाको साथ साथै धाकधम्की तथा अमर्यादिन शब्दहरु समेत प्रयोग गरेको बताइएको छ । उजुरीमा भनिएको छ, ‘हुँदै नभएको उक्त विषयलाई लिएर मलाई ३० लाखको वागर्नेनिङ गरेका थिए । मसँग मात्र हैन, मेरो साथीहरुको माध्यमबाट समेत ३० लाख लिएर नआए भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिएका थिए । उस्ता हुँदै नभएको कपोकल्पित कुराहरुकोलाई लिएर मबाट यस्तो कार्य हुन सक्दैन भनि जवाफ फर्काएपछि उनले भिडियो इडिट गरी सामाजिक सञ्जालमा पोष्ट गरी अपराधपूर्ण कार्य गरेका छन् । पत्रकारको आवरणमा अपराधपूर्ण तथा मानवअधिकार विपरित कार्य गर्ने उनी सहितको एक गिरोह नै लागिपरेको छ । यसलाई नियन्त्रण र नियमन गर्नुपर्ने अपरिहार्यता छ । त्यसैले पत्रकारको आवरणमा परिचालित गिरोहलाई नियम अनुसार कारवाही गरि पाउँ ।’

उजुरी परेसँगै प्रेस काउन्सिलले छानविन सुरु गरेको छ । अध्यक्ष बालकृष्ण बस्नेतसहितको टीमले उजुरीबारे आजैदेखी छानविन सुरु गरेको छ । गम्भीर प्रकृतिको अपराधीक कार्य भएकाले छानविनमा ढिलाई गर्नु नहुने निश्कर्षसहित निर्मम तरिकाले अगाडी बढ्ने तयारी गरेको हो । पत्रकारको कार्ड, बुम र क्यामरा बोक्दैमा कसैले पनि कसैको व्यक्तिगत जीवन तथा गलत कार्य गर्ने छुट नभएको काउन्सिले स्पष्ट पारेको छ । गलत कार्य गर्नेलाई काउन्सिलले कडा कारवाही गर्ने प्रकृया समेत अगाडी बढाएको बताइएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको प्रमाणीत भएमा अन्य सम्बन्धीत निकायसँग समेत सहाकार्य गरी उनलाई कारवाही गर्ने काउन्सिलले तयारी गरेको छ ।

पत्रकारको नाममा हुने गिरोहलाई आफुहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निगरानी तथा अनुसन्धान गरिरहेको उल्लेख गर्दै अध्यक्ष बस्नेतले कार्ड, बुम तथा क्यामरा बोक्दैमा गैरकानुनी तथा अपराधिक गिरोह गर्ने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । मनोजको नाममा पटक पटक लिखित तथा मौखिक रुपमा यस्ता प्रकारका घटनाहरुको उजुरी परिरहेको स्मरण गर्दै अध्यक्ष बस्नेतले कारवाही गर्न काउन्सिलले हातमा दही जमाएर नबस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘पत्रकारको कार्ड, बुम र क्यामरा बोक्दैमा गैरकानुनी कार्य गर्ने छुट कसैलाई छैन । पत्रकारको आवरणमा केही गिरोहहरु लागि परेको हामीले बुझेका छौं । जुनसुकै प्रकारका मिडिया हुन्, हामीले उनीहरुको पाइलै पिच्छे निगरानी गरिरहेका छौं । मिडियाको आडमा हुने गिरोहका सवै रेकर्ड खोज्दैछौं । सूचना प्राप्त हुँदैछन् । सवै सूचना प्राप्त हुनसाथ तिनीहरुमाथि निर्मम कारवाही हुन्छ । त्यो उनीहरुले कल्पना गरेभन्दा गम्भीर प्रकृतिको हुनेछ । हामीले प्रहरी प्रशासनसँग समेत सहकार्य गरेर अगाडी बढेका छौं । छिटै यस्ता गिरोहहरु हाम्रो जालोमा पर्नेछन् । जुन तिनीहरुको लागि जिन्दगीकै दुःखद् दिन बन्नेछ ।’ स्टारअनलाईन टिभीका सञ्चालक समेत रहेका मनोजको विरुद्ध पीडित महिलाले साईवर व्युरोमा समेत उजुरी दिएकी छिन् ।

साईवर व्युरोले समेत टिकटकलाई पत्राचार गरी वास्तविकता माग गरेको छ भने भिडियोको बारेमा इडिट गरेको हो कि हैन भन्ने चेक समेत भइरहेको प्रहरी स्रोत बताएको छ ।

तपाईको बिचार