भक्तपुर, ३ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान गठबन्धनको नेतृत्वलाई असक्षम ड्राइभरको संज्ञा दिनुभएको छ ।
राष्ट्रिय युवा संघ मध्यपुर थिमी नगरकमिटीको आयोजना तथा एमाले नगरकमिटीको समन्वयमा आज आयोजना गरिएको विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले सरकारकै कारण मुलुकभर अराजकता, अस्थिरता, द्वन्द्व, हत्या, आतंक, चरम भ्रष्टाचार, अनियमितता, आर्थिक मन्दी, जातीय तथा धार्मिक सद्भाव खलल् लगायतको मुलुकलाई दुर्घटनामा पुर्याउन सक्ने अनेक हर्कतहरु भइरहेको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो शासन व्यवस्था फेल भएको हैन, देश चलाउने ड्राइभरमात्र फेल भएका हुन् । असक्षम ड्राइभरको हातमा देश जाँदा व्यवस्थामाथि नै गम्भीर प्रश्न चिन्ह उठेर गयो । एमालेले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झण्डै एक वर्षदेखी देशको गाडी चलाउन दियौं र कांग्रेसका सभापति शेरबहादुर देउवालाई झण्डै दुई वर्ष चलाउन दियौं तर मुलुक चलाउने असक्षम ड्राइभरको जिम्मा लगाउँदा मुलुकमा यो अवस्था बनेको छ । यो कुरा जनतालाई बुझाउन नसक्दा एमाले प्रतिपक्षमा बस्नुपरेको छ । तर एमाले शसक्त प्रतिपक्षमा छ, मुलुक दुर्घटना हुन दिँदैन । उदाहरणको लागि कोशी प्रदेश हो । अब सातवटै प्रदेश तथा संघमा समेत सोही अनुसारको भूमिका एमालेले निर्वाह गर्छ ।’
सरकारकै कारण व्यवस्था समेत गम्भीर खतरामा गइरहेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा कांग्रेसका सभापति शेरबहादुर देउवाका हर्कतहरु फोहोरका डंगुर जस्तै भएको उल्लेख गर्नुभयो । गठबन्धन सरकारकै कारण धरान, सर्लाही, नेपालगञ्जलगायतका क्षेत्रहरुमा सामाजिक सद्भाव समेत भड्कीन खोजेको उल्लेख गर्दै उहाँले प्रचण्डको कुशासन र बालेनहरुको अराजकताका कारण काठमाडौँका ३५ प्रतिशतभन्दा बढी सटरहरु बन्द हुन पुगेको बताउनुभयो । एमालेलाई निषेधको राजनीति गर्न प्रचण्डले भूमिका खेलिरहेको उल्लेख गर्दै उहाँले उक्त कार्य तत्काल नरोके देशभर प्रतिवादमा उत्रने चेतावनी समेत दिनुभयो । प्रचण्डले कोशी प्रदेशमा जातीयताको नारा उठाई सामाजिक सद्भाव भड्काउन खोजेको भन्दै उहाँले सोही फोहोरी अभियानको एक अभियान्ता दुर्गा प्रसाई भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रचण्ड, देउवा फोहोर भएका हुन् । त्यसैले फोहोरको नालीमा कीराहरु आएका छन् । ति दुर्गा प्रसाई लगायतका आरजक तत्वहरु हुन् । दसैं र तिहारको बिचमा ति किराहरुलाई नियन्त्रण सरकारले गरेन भने डेङ्गु लगायतका असंख्य रोगहरु लाग्छ । त्यसैले त्यस प्रकार रोगहरु नियन्त्रण गर्न सरकारले नसके युवा संघले स्प्रे गर्छ, त्यसको जिम्मा स्वयम् प्रधानमन्त्री, गृहमन्त्री तथा दुर्गा प्रसाई जस्ता अराजकहरुले नै लिनुपर्छ । निषेधको राजनीति नगरौं भन्ने हाम्रो बुझाई हो तर एमालेको कार्यक्रमलाई निषेध गरेर बाध्यता बनाए युवा संघ चुप लागेर बस्दैन । त्यसको उपचार राम्ररी गर्न आउँछ । प्रचण्डको कुशासन र बालेनहरुको अराजकताका कारण काठमाडौँका ३५ प्रतिशतभन्दा बढी घरका सटरहरु समेत बन्द भए । महंगी तीन चार गुणा बढेको छ । अर्थतन्त्र चौपट हुँदै गएको छ । प्रचण्डले आफ्नो भान्जालाई कमाउनको लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरिएको छ ।’
एमालेमा तस्करी, भ्रष्टाचार, अनियमितता तथा अन्य कुनै पनि काण्डहरु नभएको दावी गर्दै उहाँेले एमालेले भक्तपुर लगायतका देशैभर विकासमा कायापलट गरेको उल्लेख गर्नुभयो । सरकार र राष्ट्रपतिले अपराधिको संरक्षण गर्ने गरेको उल्लेख गर्दै नेता बस्नेतले राष्ट्रपतिले आममाफी दिएका व्यक्ति जेलबाट वाहिर निस्केको २५ दिनमा नै एक युवतीको हत्या गरी पुनः जेल गएको भन्दै राष्ट्रपतिको आममाफीको कदमलाई कडा रुपमा प्रतिवाद गर्नुभयो । सरकार हल्ला गर्ने मात्र भएको उल्लेख गर्दै नेता बस्नेतले सरकारले भ्रष्टाचारको फाईल खोल्छु भन्दै जनताको आँखामा छारो हाल्ने कार्यमात्र गरिरहेको बताउनुभयो । प्रत्येक भ्रष्टाचारको काण्डहरुमा कांग्रेस तथा माओवादीका नेताहरुको संलग्नता रहेको उल्लेख गर्दै उहाँले जुन फाईलको अनुसन्धान सूई उनीहरुकै नेतामा पुग्ने गरेको उदाहरणसहित प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको छानविन गर्न सरकार ठूलो हल्ला गर्छ । जब आरजु देउवा र मञ्जु खाँणकोमा अनुसन्धानको सुई पुग्छ, त्यसपछि प्रचण्डको प्रधानमन्त्रीको कुर्सी लगलग काम्छ, र मुख्य दोषीलाई उन्मुक्ती दिँदै सिआइवीले प्रतिवेदन बुझाउँछ । त्यस्तै वालुवाटार, सुन काण्डमा आफ्नैमा सुई घुमेपछि अनुसन्धानको फाईल बन्द हुन्छ । कारण हो, अनुसन्धान गर्यो भने आफ्नो कुर्सी ढल्छ ।’
कार्यक्रममा संघका उपाध्यक्ष महाराज गुरुङले एमालेका अध्यक्ष केपी ओली, इन्चार्ज बस्नेत लगायतका नेता तथा कार्यकर्तालाई भौतिक आक्रमण गर्ने प्रयास गर्ने कथित पहिचानवादी तथा दुर्गा प्रसाईलाई दसैं तिहारको बिचमा कानुनी उपचार नगरे देशैंभर प्रतिरोध गर्ने चेतावनी दिनुभयो । प्रसाई मेडिकल माफीया, तस्कर, अराजक रहेको उल्लेख गर्दै उहाँले त्यस्ता व्यक्तिलाई संघले जस्तोसुकै प्रतिवाद गर्न तयार रहेको घोषणा गर्नुभयो । देशभरका संघका सवै संगठनहरुलाई अराजकतावादीलाई लखेट्न तथा एमालेको पक्षमा जनलहर पैदा गर्न निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष बचन देउजा, वागमती प्रदेशका सांसद किरण थापा, एमाले/संघका प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाईको बिचार