काठमाडौँ, २५ असोज । काठमाडौँ उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन् ।
अस्पतालका अनुसार बहिरंग विभागमा दैनिक १२र१५ जना डेंगीका बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन्। धेरैजसो संक्रमित कालीमाटी, कलंकी, टेकु र डल्लु क्षेत्रका रहेको अस्पतालको अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए ।
टाउको दुख्ने, जिउ दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा आउने र बान्ता हुने लक्षण लिएर बिरामी उपचारमा पुग्ने गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारमा पुग्नेमा बुढानीलकण्ठ र कपन क्षेत्रका बढी छन् । त्यस्तै वीर अस्पतालमा पनि डंगी संक्रमित उपचार गराउन पुग्ने गरेका छन् । एक सातायता ३० जनामा डेंगी पुष्टि भएको र २० जनालाई भर्ना गरिएको अस्पतालका फिजिसियन डा. धु्रव गैरेले जानकारी दिए । उनको अनुसार डेंगी संक्रमित धेरैजसो चक्रपथभित्रका छन् ।
बिरामीमध्ये केहीमा जटिल समस्या देखिएको डा. गैरेले बताए । काठमाडौँ महानगरपालिकामा एक सय ८४ जनामा डेंगी पुष्टि भएको रिपोर्ट आएको महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि तयारी भइरहेको काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले बताए। चिकित्सकका अनुसार काठमाडौँ उपत्यकाका डेंगी संंक्रमितमा गत वर्षजस्तो गम्भीर समस्या धेरैमा छैन । गत वर्षको तुलनामा कम संक्रमित भएकाले पनि यस्तो भएको हुनसक्ने उनीहरूको अनुमान छ । मनसुन सकिएपछि फैलिएको डेंगी संक्रमण भएकाले गत वर्ष जस्तो यसले प्रकोप लिने सम्भावना कम रहेको डा. पुनको विश्लेषण छ । यो समाचार नागरिक दैनिकमा छ ।
तपाईको बिचार