क्रिकेट खेलाडीलाई पुरस्कारको गुगली फाल्दै सरकार

क्रिकेट खेलाडीलाई पुरस्कारको गुगली फाल्दै सरकार

753

काठमाडौँ, १३ असोज । नेपाल र यूएई संयुक्त विजेता बनेका थिए सन् २०१२ को एसीसी ट्रफी क्रिकेटमा । शारजहाँ क्रिकेट रंगशालामा भएको रोमाञ्चक फाइनल ‘टाई’ मा टुंगिएपछि दुवै टोलीलाई विजेता घोषणा गरिएको थियो । १९९८ यता नेपालले निरन्तर एसियाका ‘इमर्जिङ’ राष्ट्रबीचको यो प्रतियोगिता खेल्दै आए पनि कहिल्यै जित्न सकेको थिएन ।

एसीसी ट्रफीमा संयुक्त विजेता हुनु तत्कालीन अवस्थामा नेपाली क्रिकेटले आत्मसात् गरेको सबैभन्दा ठूलो सफलता थियो । अझ नेपालले यूएईकै भूमिमा गएर खेलेकाले ट्रफी लिएर आएको थियो । राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालय नेपालको यो सफलतामा चुप लागेर बस्नेवाला थिएनन् । तत्काल घोषणा गरिहाले, ‘एसीसी ट्रफी क्रिकेट प्रतियोगितामा संयुक्त विजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई जनही ३ लाख पुरस्कार दिने ।’

यूएईको पहिचान दिने पानी जहाजको स्वरूपमा थियो ट्रफी । धेरैपछि एक पटक नेपाली टोलीका तत्कालीन सहायक व्यवस्थापकले त्यो ट्रफीका साथ आफ्नो फोटो सामाजिक सञ्जालमा राखेका थिए । त्यो पोस्टमा एसीसी ट्रफी विजेता नेपाली टोलीका तीव्र बलर अमृत भट्टराईको प्रतिक्रिया थियो, ‘यो डुबिसकेको कस्ती (पानीजहाज) देखाउनुको कुनै अस्तित्व छैन ।’ एसीसी ट्रफीमा संयुक्त विजेता बनिसकेपछिको घोषणा भएको पुरस्कार रकम नेपाली क्रिकेट खेलाडीले पाउँदै पाएनन् र अमृतले सामाजिक सञ्जालमा आफ्नो दुखेसो पोखिहाले ।

क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कार दिने

पुरस्कार वितरणलाई व्यवस्थित बनाउन गत वर्ष राष्ट्रिय खेलकुद विकास नियमावली जारी गरी कार्यविधि पनि बनाइएको छ, तर नेपाली क्रिकेट खेलाडीले घोषित पुरस्कार पाउन संघर्ष गर्नु परिरहेको छ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले अविश्वसनीय सफलता हात पार्दा त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेर ताली पिट्ने भीडमा खेलकुदमन्त्री, खेलकुद परिषद्का सदस्य सचिव, दलका युवा नेता हुन्छन्, उनीहरूलाई खेलाडीहरूले घोषित पुरस्कार नपाएको गुनासो गरिरहन्छन्, तर सुनुवाइ कतैबाट भएको छैन ।

बुधबार यस्तै भयो । चीनमा चलिरहेको १९ औं एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालले मंगोलियाविरुद्ध अनुमान गरिएभन्दा पनि चामत्कारिक कीर्तिमान बनाएर विजय हात पार्‍यो । नेपालले विश्व कीर्तिमानको पहाड नै खडा गर्‍यो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई प्रत्यक्ष बधाई दिए । मन्त्री लिम्बूले खेलाडीलाई निर्धक्क भएर खेल्न भन्न खोजिरहेका थिए, तर उनको कुरा टुंगिन नपाउँदै कप्तान रोहित पौडेलले भने, ‘सर, हाम्रो पुरस्कार के भइरहेको छ ?’ उनले पुरस्कार समयमै पाए खेलाडीलाई राहत र हौसला हुने भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।

कार्यविधि नै भए पनि पुरस्कार घोषणाको अभ्यास अस्पष्ट छ । फेब्रुअरीमा नेपालले नामिबिया र स्कटल्यान्डविरुद्ध विश्वकप लिग–२ को घरेलु शृंखला ‘क्लिन स्विप’ गरेको थियो । विश्वकप छनोटको आधार रहेको लिग–२ मा पहिलो शृंखला जितेपछि सरकारले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख रकम पुरस्कार दिने घोषणा गर्‍यो । अर्को महिना नेपालले दुबई गएर यूएई र पपुवा न्युगिनीविरुद्ध ४ मध्ये तीन खेल जितेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्ने बलियो सम्भावना देखायो । शृंखला जिते पनि सरकारबाट यस पटक कुनै घोषणा आएन ।

यूएई र पपुवा न्युगिनीविरुद्ध फेरि घरेलु मैदानमा खेलिएको लिग–२ को शृंखलामा जित हात पार्दै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा सोझै पुग्यो । पुरस्कार घोषणामा यस पटक सरकार एक कदम अगाडि बढ्यो र जनही २ लाखको सट्टा ३ लाख दिने भन्यो । वैशाखमा एसीसी प्रिमियर कप जित्दै नेपाल एसिया कपमा छनोट भएपछि ६ लाख पुरस्कार रकम घोषणा भयो ।

खेलकुद पुरस्कार कार्यविधिमा क्षेत्रीय प्रतियोगिता जित्दा ५ लाख पुरस्कार रकम पाउने व्यवस्था छ । सरकारले उपाधिको खुसीमा ६ लाख पुरस्कार रकम घोषणा गरेको थियो । तर, यी कुनै पनि पुरस्कार वितरण गरिएको छैन, त्यसैले क्रिकेट खेलाडीका नाममा घोषित जनही ११ लाख रकम बक्यौता भइसकेको छ ।

विश्वकप छनोट खेल्न जुनमा जिम्बावे जानेक्रममा नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका थिए । त्यो बेला पनि खेलाडीले घोषित पुरस्कार रकम नपाएको भनी प्रधानमन्त्रीलाई अवगत गराएका थिए, प्रधानमन्त्री दाहालले नेपाली टोली जिम्बावे नपुग्दै खेलाडीको बैंक खातामा पैसा जम्मा हुने दाबी गरेका थिए । त्यो रकम अहिलेसम्म आएको छैन । त्यस्तै यसपालि एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि पनि खेलाडीले प्रधानमन्त्रीलाई त्यही विषय सम्झाएका थिए ।

प्रधानमन्त्रीले पुरानै शैलीमा भनिदिए, ‘तपाईंहरू चीन पुगेर पहिलो खेल खेलिनसक्दा पुरस्कार रकम खातामा आउँछ ।’ प्रधानमन्त्रीको वाचा दोहोरिएजस्तै व्यवहार पनि दोहोरियो, उता चीनमा नेपाली टिमले खेल जितिसक्यो, तर पैसा खातामा पुगेको छैन । त्यसैले खेलपछि बधाईका शब्द प्रकट गरिरहेका खेलकुदमन्त्री लिम्बूसमक्ष खेलाडीले हाङचउमै गुनासो पोखेका हुन् ।

‘घोषित पुरस्कार दिन यस्तो विधि ढिलो हुँदैनथ्यो, सरकारसँग पैसा नभएरै हो कि प्रक्रिया नपुगेको हो । केही बुझ्न सकिएको छैन,’ नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भन्छन् । ओलम्पिक खेलहरूबारे कार्यविधि प्रस्ट भए पनि क्रिकेट यसभित्र नपरेकाले झमेला भएको हुन सक्ने उनको बुझाइ छ । ‘क्रिकेट अरू खेलभन्दा फरक छ । सागमा क्रिकेट हुन नहुने निश्चित छैन । एसियाडमा बल्ल खेल्न लागेका हौं,’ उनी भन्छन्, ‘तर, द्विपक्षीय शृंखला जितेर आएपछि घोषणा भएका पुरस्कार पनि आएको छैन ।’ अघिल्लो महिना खेलाडी जीवनबाट संन्यास घोषणा गरेका उनले भने, ‘उपाधि जितेर पुरस्कार दिनु राम्रो हो, तर उपाधि जित्नुअघि चासो दिएर त्यो खेललाई अझ अगाडि बढाउने घोषणा गरे अझ राम्रो हुन्थ्यो ।’

नेपाली क्रिकेटले पछिल्लो ८ महिनामा पाएको सफलतामा प्रदेश सरकारले पनि आफ्नो क्षेत्रका खेलाडी तथा ‘अफिसियल’ लाई पुरस्कार घोषणा गरेकामा वाग्मतीबाहेक अधिकांशले पुरस्कार रकम दिइसकेका छन् । कानुनी प्रक्रिया झन्झटिलो भएकाले त्यो मिलाउन नसकेको स्वीकार गर्दै खेलकुदमन्त्री लिम्बूले नेपाली क्रिकेट टोली चीनबाट फर्किंदा चेक हातमा परिसक्ने दाबी गरे ।

खेलकुदमन्त्रीले चेक दिइहाल्ने दाबी गरिरहँदा नेपालको यू–१९ क्रिकेट टोली मार्चमा यूएईमा भएको एसिया छनोट जित्दै विश्वकपमा पुगेपछिको रकम अझै पाएका छैनन् । जबकि कार्यविधिमा लेखिएअनुरूप उमेर समूहको टोलीले क्षेत्रीय प्रतियोगिता जितेमा तीन लाख रकम पुरस्कार घोषणा भए पनि नेपाली यू–१९ टोलीले अझै त्यो रकम पाएका छैनन् । नेपाली यू–१९ टोली दुई सातापछि एसिया छनोट खेल्न जाँदै छ ।

खेलकुद पुरस्कार कार्यविधिअनुसार ओलम्पिकमा स्वर्ण वा विश्वकप फुटबल जिते नेपाली खेलाडीले सामूहिकतर्फ १ करोड ३० लाख र व्यक्तिगततर्फ ५२ लाख पाउनेछन् । युथ ओलम्पिकमा स्वर्ण जित्दा सामूहिकतर्फ ६५ लाख र व्यक्तिगततर्फ ५२ लाख, एसियाली खेलकुदमा स्वर्ण जित्दा सामूहिकमा ३२ लाख ५० हजार र व्यक्तिगतमा १३ लाख, दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा सामूहिकमा ११ लाख ७० हजार र व्यक्तिगतमा ७ लाख ८० हजार पाउनेछन् ।

क्रिकेटको हकमा विश्वकपमा पहिलोदेखि तेस्रो भएमा व्यक्तिगत क्रमशः ३२ लाख ५० हजार, २६ लाख, १९ लाख ५० हजार, महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजन एकबाट विश्वकपमा छनोट भएमा १९ लाख ५० हजार, डिभिजन २ बाट डिभिजन १ लागि भएको प्रतियोगिता जितेमा ६ लाखलगायत पुरस्कार रकम दिने कार्यविधि छ । ‘नेपाल विश्वकप लिग २ मा तेस्रो भएको र त्यसबारे कार्यविधि स्पष्ट नहुँदा पुरस्कार रकम दिन ढिलाइ भएको हो, त्यसैले कार्यविधि संशोधनको मस्यौदा तयार छ,’ खेलकुदमन्त्री लिम्बूको भनाइ छ । नेपाली यू–१९ टोली घोषित पुरस्कार रकम नपाउँदा अन्योलमै अर्को प्रतियोगिता खेल्न जान लागिरहेको छ । पुरस्कार नपाउँदा आर्थिक बोझका साथै प्रदर्शनमा असर पर्ने भन्दै कप्तान रोहितले मन्त्री लिम्बूको ध्यानाकर्षण गराएका थिए । एसियाडमा नेपालीको प्रदर्शनमा चमक नआउनुका कारण यस्तै घोषित पुरस्कार रकमको असर हुन सक्नेतर्फ सजग हुनुपर्ने खेल विज्ञहरू बताउँछन् ।

१९९९ मा घरेलु मैदानमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपाली खेल क्षेत्रकै बहुचर्चित पुरस्कार घोषणा भएको थियो । जतिखेर नेपाली खेलाडीले स्वर्ण पदक जितेमा ‘सरप्राइज’ पुरस्कार पाउने बताउँदै तत्कालीन खेलकुदमन्त्री शरतसिंह भण्डारीले त्यो पुरस्कार खेलाडीको घरबारसँग सम्बन्धित रहेको जनाएका थिए । त्यो पुरस्कार नपाएपछि ३१ स्वर्ण जितेका खेलाडी आफैं ‘सरप्राइज’ भए । नेपालले २०१४ को विश्वकप क्रिकेट खेलेको थियो, राम्रो खेल्ने खेलाडीलाई टोयोटाले कार दिने घोषणा थियो । राम्रो खेलेका पारस खड्कालाई कार दिने घोषणा गरिए पनि अझै पाएका छैनन् ।

‘चीनबाट फर्किंदा हातमा चेक’: लिम्बू, युवा तथा खेलकुद मन्त्री

क्रिकेट खेलाडीलाई घोषणा गरिएको पुरस्कार रकम रोकिएको विषयमा सरकार गम्भीर छ । यसका लागि कार्यविधि संशोधनको प्रक्रिया अगाडि बढेको छ । कानुनी प्रक्रिया अलिक झन्झटिलो भएकाले ढिलाइ भएको हो, यसमा दुःख पनि लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार आउँदै हुनुहुन्छ र सोमबार क्याबिनेट बसेर यसलाई टुंगाउने तयारी भइरहेको छ । आज पनि मन्त्रालयमा सचिवज्यूलाई यो प्रक्रिया अगाडि बढाउनुस् भनेका छौं ।

झन्झटिलो प्रक्रियाले खेलाडीलाई दिनुपर्ने पुरस्कार समयमै दिन नसक्दा मिडियाले पनि यसबारेमा आवाज उठाइरहेकै छन् । त्यसैले एसियाली खेलकुदबाट क्रिकेट खेलाडीहरू फर्किंदै गर्दा यो सबै टुंगाउँछौं भनेका छौं ।

अरू खेलको स्वर्ण पदक, रजत र कांस्य भनेर कार्यविधिमा लेखिएको छ, तर नेपालको राष्ट्रिय क्रिकेट टोली विश्वकप लिग २ मा विजेता नभई राम्रो खेलेर तेस्रो स्थान हात पार्दै विश्वकप छनोटमा पुगेकामा पनि सरकारले पुरस्कार घोषणा गर्‍यो, तर यसबारे कार्यविधि स्पष्ट छैन । लिग २ मा तीनवटा शृंखलामा नेपालले सफलता हात पार्‍यो । तर यो कुरा कार्यविधिमा नलेखिएकाले यो संशोधन गरेर जानुपर्ने भयो । संशोधनको प्रक्रियामा जाँदा विधि प्रक्रिया त पुर्‍याउनुपर्‍यो नि । कानुनको सहमति लिने, अर्थको सहमति लिनेलगायतका झन्झटिलो प्रक्रियामा अहिले हामी छौं । यो अहिले अन्तिम चरणमा छ, चाँडै नै टुंगिन्छ ।

म मन्त्री भएर आएदेखि नै यो प्रक्रियामा लागेको लाग्यै छु । यसलाई टुंग्याउन सरकारमा सबै सकारात्मक छन् । प्रधानमन्त्रीले निर्देशन दिँदा पनि समय लागिरहेको छ भने पछि तपाईं आफैं बुझ्नोस्– प्रक्रिया कति झन्झटिलो छ ।

एसियाली खेलकुदमा नेपाललाई अहिलेसम्म त क्रिकेटले नै चिनायो । नेपालले एउटै खेलमा ५–६ वटा विश्व कीर्तिमान कायम गरेको छ, त्यो त अप्रत्याशित हो । चना चिउरा खाएर खेलेका खेलाडीले यो कीर्तिमान बनाएको देख्दा हाम्रो त त्यहाँ रगत उम्लिएर आयो । मैले खेलाडीलाई प्रत्यक्ष भेटेर आएँ । तनाव नलिनोस् भनें । उनीहरूको गुनासो फेरि पनि घोषित पुरस्कार रकम नपाएकैमा थियो । सरकारले प्रतिबद्धता व्यक्त गरेको पुरस्कार तपाईंहरू पाउनुहुन्छ, ढिलोचाँडो हो भनेको छु । अब जित्ने लक्ष्य बनाएर खेल्नु भनेर आएको छु । खेलाडीहरू फर्केर आउँदा हातमा चेक राख्छु भनेर वाचा गरेको छु । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

तपाईको बिचार