काठमाडौँ, १३ असोज । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् । ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् । महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । त्यस्तै पुरुष तर्फको उपसचिवमा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन् ।
ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने उनको चुनावी अभियानमा एमाले नेता महेश बस्नेत लगायत सक्रियतापूर्वक लागेका थिए । यस्तै इतर समूहको प्रतिनिधित्व गर्ने दहाललाई अर्का नेता गोकुल बाँस्कोटालगायत जिताउन लागिपरेका थिए । सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।
तपाईको बिचार