काठमाडौँ, १८ भदौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।
आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए । त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालयमा महिनौंसम्म तालाबन्दी हुँदै आएको छ । ‘विश्वविद्यालयमा हुने बन्द, हड्ताल र तालाबन्दीको अन्त्यका लागि राजनैतिक सहमति बनाउनुपर्छ, संलग्न सबै पक्षलाई अपील गर्नुपर्छ, त्यसो हुन सकेको खण्डमा हस्तक्षेप समेत गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठले उच्चशिक्षमा शैक्षिक क्यालेण्डर लागू गर्न पनि आग्रह गरेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । क्यालेण्डर कार्यान्वयनका लागि अनुकूल वातारण सिर्जना हुनुपर्ने र त्यसका लागि पनि बन्द, हड्ताल अन्त्य हुनुपर्ने उनले बताएका थिए । तालाबन्दी नियन्त्रण गर्न सरकार र गृह मन्त्रालयले साथ दिने उनले प्रतिबद्धता जनाए । उपकुलपतिहरुसँग गृहमन्त्रीले उच्चशिक्षामा लगानी बढाउनुपर्ने र अनुसन्धान संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
बैठकमा सहभागी ११ वटा विश्वविद्यालयका उपकुलपतिहरुले तालान्दी र अराजक गतिविधिहरुको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका थिए । विश्वविद्यालयमा शान्ति सुरक्षा कायम हुनुपर्ने उनीहरुले भनाई थियो ।
तपाईको बिचार