काठमाडौँ, १७ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले नक्सा विवादको समस्या कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गरिने बताएका छन् । आज ओखलढुंगा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्विकारोस् भन्ने नेपालको अडान रहेको र यही विषयलाई लिएर विवाद गर्नु उचित नहुने बताए ।
हालै चीन सरकारले जारी गरेको नक्सामा नेपालको लिम्पियाधुरा क्षेत्र भारतमा समेटिएको विषयमा प्रतिक्रिया दिँदै मन्त्री साउदले ‘हामी आफ्नो नक्सामा प्रतिबद्ध छौँ, यसलाई धेरै विवाद गरेर अघि बढ्ने भन्दा पनि सबै देशसँग कूटनीतिक संवाद र छलफल गरेर विवादको समाधान गर्न चाहन्छौँ ।’
सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको नक्साको सम्मान गर्नुपर्ने बताउदै उनले भने, ‘नक्सा जारी गरेपछि सो नक्सासहितको नोट अरु मुलुकलाई हामीले पठाएको छौँ कि छैनौँ भनेर खोज्न लगाएको थिएँ । हालसम्म पठाएको भन्ने देखिएको छैन ।’
मन्त्री साउदले नक्साको समस्यालाई विवाद नगरी कूटनीतिक पहल र वार्ताको माध्यमबाट समाधान गर्ने बताए । ‘नेपाल सरकारले जारी गरेको नक्सा सबै अन्तर्राष्ट्रिय निकाय र मुलुकले सम्मान गरोस् र स्विकारोस् भन्ने हाम्रो अडान त छँदैछ,’ मन्त्री साउदले भने, ‘तर यही विषयलाई लिएर विवाद गर्नु उचित हुँदैन ।’
तपाईको बिचार