काठमाडौँ, १४ भदौ । नेकपा (एमाले) ले सातै प्रदेशमा संविधान दिवस मनाउने भएको छ ।
एमालेको बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३ गते सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
एमालेले दसैं र तिहार पर्वको बीचमा पोलिट्ब्युरो बैठक गर्ने निर्णय गरेको छ । मंसिरमा केन्द्रीय कमिटी बैठक राख्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अहिले मध्यपहाडी राजमार्गमा त्यस्तै युवालक्षित अभियान चलाउन लागेको हो । मंसिरमा धनगढीमा केन्द्रीय कमिटी राख्ने र त्यसले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियानको योजना बनाउने पनि एमालेले बताएको छ ।
एमालेले काठमाडौं बाहिर केन्द्रीय कमिटीको बैठक राख्ने र केन्द्रीय सदस्यहरूलाई फरक भूगोलसँग साक्षात्कार गराउने नीति लिएको छ । यसअघि झापाको दमकमा पाँचौं केन्द्रीय कमिटीको बैठक आयोजनाको तयारी गरेको थियो । तर, कोशीमा पहिचानको आन्दोलन चर्किएकाले वैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्यो ।
एमालेले चौथो महाधिवेशन आयोजना भएको विष्णुपुरकट्टीको सर्रे अम्बासमा नजिकैको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी ३ लाखको अक्षय कोषसमेत खडा गरेको छ । विद्यालयको नाममा १८ कट्ठा जग्गा पनि खरिद गरेको छ । त्यस्तै चौथो महाधिवेशन भएको काठेघरलाई संरक्षण गर्न त्यहाँको १४ कट्ठा जग्गालाई मदन भण्डारीको पार्कको नाममा खरिद् गरिएको छ । बुधबार त्यहाँ नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पूरा भएको सन्दर्भमा हिरक स्तम्भको समेत शिलान्यास गरिएको छ ।
तपाईको बिचार