मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

799

काठमाडौँ, ७ भदौ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले सार्वजनिक गरेकी हुन् । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले युनिसेफको आयोजनामा नेदरल्यान्ड्सको हेगमा आयोजना हुने माइक्रोनुट्रेन्ट फोरमको छैटौँ ग्लोबल कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छीलाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले एसियाली विकास बैंकबाट रुरल कनेक्टिभिटी इन्प्रुभमेन्ट प्रोजेक्ट एडिसनल फाइनान्सिङका लागि प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो आयोजनाअन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाइहरुका लागि आवश्यक १९ वटा राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतापपुर हेल्थपोस्टको नाममा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) साविक प्रतापपुर गाविस वडा नम्बर ४ घ स्थित ०–९–१३ बिघा जग्गा प्रतापपुर गाउँपालिकालाई प्रशासकीय भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले लमजुङ जिल्ला हाल बेँसीशहर नगरपालिका ३ स्थित १७–१४–३१ रोपनी सार्वजनिक प्रकृतिको जग्गा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङलाई प्रयोग गर्न स्वीकृति दिने, भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने, माथिल्लो दरौदी बी साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको सुलीकोट गाउँपालिका वडा नं. २ र अजिरकोट गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९२ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बकापथ सिँचाइ आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, विज्ञान, प्रविधि तथा नवप्रर्वतनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने, अमरगढी नगरपालिका, डडेल्धुरालाई साविक उग्रतारा गाविस वडा नं. २ को १४–५–१–० रोपनी जग्गा ल्यान्डफिल साइट निर्माण गर्ने प्रयोजनका लागि प्राप्ति गर्न सहमति प्रदान गर्ने, नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा नायव महालेखापरीक्षक पदमराज पौडेललाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै, सरकारले भदौ ६ गते बसेको बैठकमा धुलिखेल अस्पतालमा ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने, कर्जा सुरक्षण (चौथो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने, २०८० साल असोज ८–९ गते इजिप्टको शार्म एल शेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौँ वार्षिक बैठकमा अर्थमन्त्री (एसियाली पूर्वाधार लगानी बैंकका लागि गभर्नर) नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको थियो । धितोपत्र दर्ता तथा निष्काशन (सातौँ संशोधन) नियमावली, २०६८ संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै, सरकारले नेपाल इन्जिनियरिङ सेवा, केमिकल इन्जिनियरिङ समूह, राजपत्राङ्कित प्रथम श्रेणी (प्रा.) मा बढुवा गर्ने, राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता नीति, २०८० स्वीकृत गर्ने, उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमहरू, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

मल्दिभ्समा भदौ २३, २०८० (तदनुसार सेप्टेम्बर ९, २०२३) मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको अवलोकन गर्न भदौ २१–२६, २०८० सम्मका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भ्रमण स्वीकृत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

सुर्खेत जिल्ला साविक अवलचिङ्ग गा.वि.स. वडा नं. ४ क को नौ रोपनी जग्गा चिङ्गाड गाउँपालिका वडा न. ५ मा निर्माण हुने १५ शय्याको आधारभूत अस्पताल निर्माणार्थ चिङ्गाड गाउँपालिकालाई उपयोग गर्न स्वीकृति दिने, वन तथा वातावरण मन्त्रालयअन्तर्गत आ.व.२०८०/८१ मा सञ्चालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भूपरिधि व्यवस्थापन आयोजनालगायतका सत्रवटा आयोजना तथा कार्यक्रमहरुका लागि राजपत्रांकित श्रेणीको ३८ अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय पनि भएको छ ।

सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका राजपत्राङ्कित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने, गीत सङ्गीतमार्फत राष्ट्रलाई पुर्‍याएको योगदानको कदर स्वरूप स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायक उपाधि प्रदान गर्ने, आगामी मिति २०८० असोज १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको टेक्सासमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको भ्रमण स्वीकृत गर्ने, सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजनालगायतका मन्त्रालय निकायहरुको आर्थिक वर्ष २०८०/८१ को लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

प्रवक्ता शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा असामयिक निधन भएकोमा नेपाल सरकारको तर्फबाट गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने र दुःखद् घडीमा मन्त्री र शोकसन्तप्त परिवारजन तथा शुभेच्छुकप्रति समवेदना प्रकट गर्ने निर्णय पनि गरेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर