काठमाडौँ, २४ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो गृह जिल्ला रोल्पामा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएकामा दुःख व्यक्त गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ठुलो मानवीय क्षति भएकामा मर्माहत भएको बताएका छन् ।
पुनले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गरे । पुनले दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्लाभको कामना गर्दै बढ्दो सडक दुर्घटना र त्यसबाट भइरहेका मानवीय क्षति न्यूनीकरणका लागि गम्भीर ध्यान दिन सरोकारवाला निकायसँग आग्रहसमेत रहेका छन् ।
उनले घाइतेको उपचारमा कुनै समस्या परे आफू र आफ्नो सचिवालयमा सम्पर्क राख्नसमेत भनेका छन् । रोल्पाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई घाइतेको उपचार र मृतकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिनुका साथै उक्त कार्यमा आफ्नो समन्वय आवश्यक भए जानकारी गराउन भनेका छन् ।
तपाईको बिचार