काठमाडौँ, १७ साउन । वैदेशीक रोजगारीमा महिलालाई प्रतिवन्ध लगाउनु समस्या समाधान नभएको उल्लेख गर्दै पौरखी नेपाल र घरेलु कामदार सरोकार समाजले राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराएको छ ।
मंगलवार दुई संस्थाले आयोगको केन्द्रीय कार्यालय भद्रकालीमा पुगी आयोगको सदस्य कृष्णकुमारी पौडेल खतिवडालाई उक्त ध्यानाकर्षण बुझाएको हो । वर्तमान अवस्थामा स्वदेश तथा विदेशमा महिलाले स्वतन्त्रतापूर्वक काम गर्न पाउने वातावरण सिर्जना गर्ने अवस्थाको पहलका लागि ध्यानाकर्षण गराएका हुन् । नेपालबाट वैदेशीक रोजगारीमा जान महिलालाई प्रतिवन्ध लगाउनु समस्याको समाधान नभएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा महिलालाई खुल्ला गर्नुपर्ने उल्लेख गर्दै महिला आयोगले उक्त कार्य गर्न र गराउन सरकारलाई सिफारिस गरी निर्देशन दिन आग्रह गरिएको छ ।
पौरखी नेपालका अध्यक्ष सत्र कुमारी गुरुङद्वारा हस्ताक्षरित ध्यानाकर्षणमा भनिएको छ, ‘प्रतिवन्ध समस्याको समाधान हैन भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । यसर्थ तत्काल प्रतिवन्ध फुकाई राज्यका सवै नागरिक समान हुन भन्ने अनुभुति गराउनका लागि समानताको नीति अवलम्बन गर्नुपर्ने आदेश राज्यको संवैधानिक निकाय र समग्र नेपाली महिलाहरुको अभिभावक राष्ट्रिय महिला आयोगलाई हार्दिक अनुरोध छ । यो प्रतिवन्धले विमानस्थलमा सेटिङ गर्ने गिरोह, विचौलीया मानव तस्करलाई फाइदा पुर्याइ रहेको पाइन्छ । महिलाहरुलाई अझै जोखिमपूर्ण, तनावपूर्ण, अनावश्यक अतिरिक्त शुल्क तिर्नुपर्ने, बाध्यात्मक अवस्था, आर्थिक शोषण लगायतका विविध हिंसाको सिकार हुनुपर्ने, राज्यको सेवा सुविधाबाट बञ्चित हुनुपर्ने, अभिलेखबद्ध नहुने, सामाजिक सुरक्षाको परिधिमा नपर्ने परिणाम हामीसँग छर्लङ्ग छ । वैदेशीक रोजगारीमा संलग्न महिलाले श्रमिकहरुको योगदानको मूल्य, कदर राज्यले गरेको पाइदैन, जुन खेदजनक छ ।’
त्यस्तै घरेलु कामदार समाजले खाडी मुलुकमा महिला घरेलु कामदारको तस्करी रोक्न, वैदेशीक रोजगारीमा घरेलु महिला कामदार जान नेपाल सरकारले लगाएको प्रतिवन्ध फुकुवा गरी बैधानिक बाटो खुल्ला गर्न निर्देशन तथा सिफारिस गरिदिन आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ । ध्यानाकर्षणमा नेपालबाट दैनिक जसो सेटिङ गरी विभिन्न प्रयोजनको बहानामा वार्षिक ५० हजारभन्दा बढी नेपाली महिलाहरु गैरकानुनी बाटोबाट खाडी मुलुक जाने गरेको तथ्याङ्क देखाइएको छ । अध्यक्ष किसन प्रधानद्वारा हस्ताक्षरित ध्यानाकर्षणमा भनिएको छ, ‘बैधानिक बाटो खोल्नुको अर्थ नयाँ देश खोल्नुमात्र हैन तर यस्तो मुलुक जहाँ कामदारको सुरक्षाको प्रत्याभुति होस् । सवै व्यक्तिगत तवरमा हैन, संस्थागत जिम्मेवारी हुने गरी खोल्नुपर्छ ।’
ध्यानाकर्षण पत्र बुझ्दै आयोगको सदस्य पौडेलले महिलाको सुरक्षित र भरपर्दो वैदेशीक रोजगारी ग्यारेन्टी बैधानिक रुपमा हुनुपर्नेमा दृढ रहेको बताउनुभयो । ध्यानकर्षण गराइएका कुराहरुमा ऐक्यवद्धता जनाउँदै उहाँले कुरामा भन्दा पनि नतिजामा आफुले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । सम्बन्धित निकाय तथा मन्त्रालयमा वैदेशीक रोजगारीमा जान महिलालाई लगाइएको प्रतिवन्ध फुकुवा गरी महिलालाई आर्थिक सशक्तिकरणमा जोड दिनुपर्ने उहाँको जोड थियो । आयोगले आगामी दिनमा विदेशमा महिलाको अवस्थाको बारेमा अध्ययन अनुसन्धान गरी तत्काल आवश्यक प्रकृया अगाडी बढाउने विश्वास दिलाउनुभयो । ‘एउटा घरमा महिला शिक्षित भयो भने सम्पूर्ण परिवार नै शिक्षित हुन्छ । महिला आर्थिक रुपमा भरिपूर्ण भयो भने त्यो परिवारको भाग्य र भविष्य नै सुन्दर हुन्छ’, उहाँले भन्नुभयो, ‘महिलालाई वैदेशीक रोजगारीमा जान लगाइएको प्रतिवन्ध फुकुवा गर्नुपर्छ । त्यसैले म कुरामा हैन, नतिजामा विश्वास गर्छु । तपाइहरुको मागको सुनुवाईको लागि आयोगले सम्बन्धित निकायलाई सिफारिस गर्छ, छलफल गर्छ र उचित निचोड निकाल्छ ।’
तपाईको बिचार