नेता बस्नेतद्वारा पार्टी सुदृढिकरणको लागि १० सुझाव (सूचीसहित)

नेता बस्नेतद्वारा पार्टी सुदृढिकरणको लागि १० सुझाव (सूचीसहित)

1108

भक्तपुर, १२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनेमात्र नभई पार्टी सुदृढिकरण गर्नुपर्ने अपरिहार्यता रहेको औंल्याउनुभएको छ ।

भक्तपुरमा आज आयोजना गरिएको जनसंगठन सम्यन्त्रको १२औं बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टी सुदृढिकरणको लागि १० वटा सुझावहरु प्रस्तुत गर्नुभएको छ । नवउदारवादी शक्तिहरुले एमालेलाई छुनै नसक्ने गरी नवयुवाहरुलाई समेटेर लैजानुपर्नेमा जोड दिँदै राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले पार्टीका सवै जनसंगठनलाई व्यवस्थित र प्रभावकारी ढंगले परिचालन गर्न निर्देशिका नै बनाएर जानुपर्नेमा जोड दिनुभयो ।

बैठकमा उहाँले प्रस्तुत गर्नेभएको १० सुझावहरुको संक्षेपिकरण यस्तो छ,

१. मञ्चमा आसनग्रहणलाई व्यवस्थित गर्नुपर्ने
कुनै पनि कार्यक्रमलाई छिटो, छरितो र व्यवस्थित बनाउन मञ्चमा आसनग्रहणलाई कम गर्ने गर्नुपर्छ । मञ्चमा धेरै संख्या हुँदा कार्यक्रमको सोभा समयसापेक्षीत रुपमा जनचाहना अनुसारको नहुने भएकाले मञ्चमा बस्नै पर्ने र बोल्नै पर्ने भन्ने नेतृत्वको भावना हटाउनुपर्छ ।

२. वक्ताको संख्या घटाउनुपर्छ
एउटा सामान्य कार्यक्रममा पनि २०÷२५ जना राख्नुपर्ने अवस्था रहेको छ । यसलाई पालनाको लागि एउटा नियमावली नै बनाएर जानुपर्छ जस्तो मलाई लाग्छ । अहिलेको समयमा लामो र धेरै व्यक्तिको भाषण भन्दा पनि भिजन र काममा नै जनताले विश्वास गर्ने भएकालेले आसनग्रहणको संख्या घटाउँदै महिला तथा नवयुवाहरुको उपस्थितीलाई बढाउनुपर्छ ।

३. जनसंगठनको अधिवेशनलाई व्यवस्थित गर्नुपर्छ
हामी पहिले पहिले राष्ट्रिय सम्मेलन भन्ने गर्थ्यौं । अहिले अधिवेशन भन्ने गरेका छौं । अधिवेशनको तात्पर्य भनेको संगठनमा आधारित पद्धति हो भन्ने मलाई लाग्छ । तर जनसंगठनमा वितरण हुने सदस्यता प्रणाली व्यवस्थित छैन । त्यसो हुनाले पार्टीले जस्तै जनसंगठनमा पनि सदस्यतामा आधारित प्रणालीमा लागु गर्नुपर्छ ।

४. व्यवस्थित आर्थिक स्रोतको व्यवस्थापन
सदस्यता लगायतका पार्टीका अन्य शुल्कहरुलाई व्यवस्थित नगरेसम्म सदस्यतामा आधारित प्रणालीलाई व्यवस्थित गर्न सकिँदैन । आर्थिक व्यवस्थापन, संगठन सञ्चालन तथा कार्यक्रम सञ्चालनलाई व्यवस्थित गर्न नसक्ने तर उम्मेदवार पाउने छ भन्ने भयो भने तयार हुने अवस्था छ । त्यसैले आर्थिक व्यवस्थापनमा पनि संगठनमा आधारित बनाउनुपर्छ ।

५. टीकट वितरणलाई मातहत कमिटीलाई नै दिनुपर्छ
निर्वाचनको समयमा टीकट नपाएकै कारण अन्रतविरोध हुने गरेको पाइएको छ । एउटाले टीकट पाउने तर पाँच जनाले टीकट नपाउने भएकाले बाँकी चार जनाले असहयोग गरेको पाइन्छ । त्यसैले टीकट दिने शैलीलाई माथिल्लो कमिटीमा लैजानुभन्दा पनि मातहतका कमिटीलाई नै दिँदा राम्रो हुन्छ । सकेसम्म सर्वसम्मत छनोट गर्ने नभएमा संगठित सदस्यहरुद्वारा भोटिङको माध्यमबाट टुंग्याउँदा राम्रो हुन्छ ।

६. संघीय तथा प्रदेश तहमा क्षेत्रगत रुपमा प्राप्त मतको आधारमा समानुपातिक सांसदको छनोट गर्नुपर्छ
समानुपातिक निर्वाच प्रणालीमा न्यायोचित भएन भन्ने गुनासो रहेको छ । त्यसलाई पार्टीले एउटा मापदण्ड बनाइदिएर सम्बन्धीत जिल्ला प्राप्त संघीय तथा प्रदेश तहमा क्षेत्रगत रुपमा प्राप्त भएको मतको आधारमा गर्नुपर्छ ।

७. युवाहरुको पार्टी बनाउने अभियान चलाउनुपर्छ
युवाहरुको पार्टी एमाले हो भन्ने गरी व्यापक मात्रामा अभियान चलाउनु जरुरी रहेको छ । १६ देखी २४ वर्षका युवाहरुको संख्या करिव १८ लाखभन्दा बढि रहेको छ । त्यो १८ लाख युवाहरु एमाले हुनुपर्छ । राष्ट्रिय युवा संघले मिसन डेस्टिनेशन, टार्गेट न्यु जेनेरेशन भन्ने अभियान चलाएको छ । यसले कम्तिमा द्धार लाख युवाहरुलाई सदस्यता वितरण गर्ने लक्ष्य बनाएको छ । त्यसैले सवै जनसंगठनहरु सोही अनुसार जानुपर्ने हुन्छ ।

८. सवै जनसंगठनलाई नवयुवाहरुमा लैजानुपर्छ
पार्टीका सवै जनसंगठनहरुले नवयुवाहरुको साथमा लैजानुपर्छ । कसरी समेट्ने भन्ने एउटा विशेष खालको योजना बनाउनुपर्छ । नवयुवाहरुलाई ध्यान दिएर पार्टीको एउटा विभाग नै बनाउनुपर्ने हो कि ? त्यसो गर्न सके मात्र हामी नवयुवाहरुमा जान सक्छौं । नवयुवाहरुमा जान सकेमात्र हाम्रो पार्टीविरुद्ध लगाइएको आक्षेपहरु हटाउन सक्छौं । राज्यका सम्पूर्ण निकायहरु शक्तिको दुरुपयोग गरी एमालेविरुद्ध लागेका छन् । यसलाई चिर्न नवयुवामा पुग्नै पर्छ । वास्तविकता जानकारी गराउनै पर्छ । हामी विरुद्धका फेक काण्डहरु मच्चाउनेविरुद्ध दृढताका साथ सत्य तथ्य बोकेर नवयुवाहरुमा जानुपर्छ ।

९. आधुनिक सूचना प्रविधिलाई व्यवस्थित उपयोग
अहिलेको आधुनिक सूचना प्रविधिलाई पार्टी र मातहतका कमिटीलाई कसरी व्यवस्थित उपयोग गर्ने ? भन्ने विषयमा ध्यान दिन जरुरी रहेको छ । फेसबुक, ट्वीटर, भाइवर, टिकटकलगायतका सामाजिक सञ्जालबाट अहिले एमालेविरुद्ध जुन प्रकारले आक्रमण भइरहेको छ, त्यो रोक्नको लागि युवाको भूमिका महत्वपूर्ण हुन्छ । तर हाम्रो पार्टीमा बुढौली पुस्ताको बर्चश्व रहेकाले आधुनिक सूचना प्रविधिको अधिकतम उपयोग गरी पार्टीको नीति, निमय, सिद्धान्त, पार्टीको कार्यक्रम, योजनाहरु जनताको माझमा आवश्यक मात्रामा पुर्याउन सकेका छैनौं । यो कुरामा ध्यान दिनुपर्छ र नवयुवाहरुलाई व्यापक परिचालन गर्नुपर्छ ।

१०. दुई प्रकारका प्रवास कमिटी
विदेशमा युवाहरु एमालेमा बढी आवद्ध रहेता पनि अलि निरास बनेको जस्तो देखिन्छ । जसलाई सम्बोधन गर्न दुई प्रकारका कमिटी बनाउनुपर्छ । एउटा मजदुर र अर्को युवा कमिटी बनाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । जसले गर्दा नवउदारवादी शक्तिलाई पराजित गर्न सकिन्छ । विदेशमा रहेका नवयुवाहरुले नबुझि हाम्रोविरुद्ध उभिने अवस्था अन्त्य हुनेछ । बुझ्ने र बुझाउने कार्यको व्यापक मात्रामा अभियान नै चलाउनुपर्छ, राजनीतिक जनचेताना फैलाउनुपर्छ ।

तपाईको बिचार

सम्बन्धित खबर