काठमाडौँ, २३ असार । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले छिट्टै ब्याजदर घटाउने बताएका छन् ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ, काठमाडौँले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास समेत व्यक्त गरे । अर्थमन्त्री महतले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई बैंकको ब्याँजदर घटने कुराले ठूलो राहत हुने बताए ।
अर्थमन्त्री महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको उल्लेख गर्दै आन्तरिक वस्तुहरुको खपतमा जोड दिनु पनि आम उपभोक्तालाई आग्रह गरे । उनले कृषिवस्तुको खपत र रोजगारी सृजनाको क्षेत्रमा राम्रो काम गरेको भन्दै क्याटरिङ व्यवसायीहरुको पनि प्रशंसा गरे । अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको पनि दोहोरयाए । उनले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराए ।
तपाईको बिचार