पाँचथर, १८ असार । धान दिवसको दिन फालेलुङ गाँउपालिका ३ सास्टार पुग्दा उराठलाग्दो दृश्य देखियो । यहाँको फाँटिलो खेतमा अघिल्लो साल जस्तो रोपाईको उमंग थिएन । गत साल गाउँपालिकाले धुमधामका साथ धान दिवस मनाएको यो खेत खण्डहर बनेको छ। खेतको कुनै निसोपत्तो छैन । बगरले आफ्नो आकार बढाएर खेत खर्लप्प निलेको छ ।
खेतको नाममा बगरभन्दा अलि माथि दुई/चार फोक्टा मात्र बाँकी छन् । फोक्टाको आलीमा तीन जना किसान झोक्राएर बसेका थिए। उनीहरू गडगडाइरहेको हेंवा खोलालाई धारे हात लगाएर गाली गरिरहेका थिए । ‘अलच्छिनी बाढीले गर्नुग¥यो,’ उनीहरूको आक्रोश दैवप्रति थियो ‘किसानको मर्म दैवले बुझेन ।’ बगरको बीचमा फालेलुङ–५ लुम्मादिनका दीपेन्द्र केरुङ झोक्राएर ढुंगामा बसेका थिए । ‘३० मूरी धान फल्ने खेत बाढीले एकै छाक बनायो,’ बगर देखाउँदै केरुङले कहानी सुनाए, ‘सारै राम्रो धान फल्ने खेत थियो। असार २ गते रातिको बाढीले सबै सखाप पारिदियो।’ बाढीले खेत बगाएपछि जिउने आधार नै हराएको उनले सुनाए । फालेलुङमा अन्नभण्डारको रूपमा चिनिएको घुमाउनेटार ढुंगाभण्डार जस्तो थियो । यहाँको फाँटिलो खेत र गोरु बाँध्ने ग्वालीहरू केही पनि देखिएनन्। धान उत्पादन हुने मलिलो फाँटमा ढुंगा, बालुवा र रोडा थुप्रिएको थियो ।
‘हिलो आलि सकेर रोप्न ठिक्क पारेको खेत बाढीले बगायो,’ मच्छेबुङकी देवकुमारी गिरीले भनिन्, ‘१० रोपनी खेत बगरमा परिणत भयो। एक गाबो धान रोप्ने ठाँउ रहेन । यो साल धानको नुवागी गर्न पनि नपाइने भो ।’ गिरीको परिवारले असार ५ गते धान रोप्ने तयारी गरेको थियो । बाउसे, रोपार, बियाडे, हली र गोरुको बन्दोबस्त भइसकेको थियो । असार २ गते रातिको बाढीले खेतमा बितण्डा मच्चाएपछि गिरी परिवार बिछिप्त छ ।
बाढी आएपछि हेंवा खोला आसपासका मलिला खेतहरू बगरमा परिणत भएका छन् । सिँचाइका लागि निर्माण गरिएका कुलोहरू भत्किएपछि बाँकी खेतहरूमा धान रोप्न सकिएको छैन । खेत खोलाले बगाएपछि किसानले असारे भाकामा धान रोप्न पाएका छैनन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
तपाईको बिचार