भक्तपुर, १६ असार । भ्याली च्याम्पियनसिप फुटसल छनोट प्रतियोगितामा मध्यपुर थिमी नगरपालिकाबाट वडा नं. ५ विजयी भएको छ । विजयी भएसँगै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको उपत्यका स्तरीय फुटसल प्रतियोगितामा थिमीबाट वडा नं. ५ छनोट भएको छ ।
संघको जिल्ला कमिटी र नगरकमिटीको संयोजन तथा केन्द्रीय खेलकुद विभागको आयोजनामा आज मध्यपुरमा भएको छनोट प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए । त्यसबाट वडा नं. ५ र १ फाइनलमा पुगेका थिए । खेलमा वडा नं. ५ ले ४ गोल गर्दै विजयी हुन सफल भयो भने वडा नं. १ ले एक गोल गर्दै उपविजेता बनेको संघका केन्द्रीय सदस्य विशाल सुवेदीले जानकारी दिनुभएको छ । यो सँगै थिमी नगरपालिकाबाट वडा नं. ५ ले उपत्यका स्तरीय फुटसल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । खेलको उद्घाटन नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले गर्नुभएको थियो । त्यस्तै चाँगुनारायण नगरपालिकबाट वडा नं. २ छनोट भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाको भने छनोट हुन बाँकी रहेको केन्द्रीय सदस्य सुवेदीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले संघले सम्पूर्ण नेपाली युवाहरुको उज्वल भविष्यको निम्ती विभिन्न प्रकारका रचनात्मक कार्यहरु गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । मध्यपुरले जोस जाँग र उत्साहका साथ लागेमा उपत्यका स्तरीय प्रतियोगितामा विजयी बन्ने सक्ने उहाँले बताउनुभयो । खेलकुदले स्वस्थ, सभ्य र अनुशासित जीवन बनाउने उल्लेख गर्दै उहाँले आगामी वर्षमा पनि नियमित रुपमा उपत्यका स्तरीय फुटसल प्रतियोगिता हुने जानकारी दिनुभयो ।
सामाजिक, राजनीतिक परिवर्तन, युवाहरुको स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका अभियानहरु अगाडी बढाउने महत्वपूर्ण जिम्मेवारी संघले लिएको उल्लेख गर्दै उहाँले केपी ओली नेतृत्वको सरकारको समयमा आएका युवामैत्री योजनाहरुलाई अहिलेसम्म गाउँ गाउँमा रचनात्मक रुपमा पुर्याउने कार्यमा लागि परिरहेको उल्लेख गर्नुभयो । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको पक्षमा जहिले पनि खम्बाको रुपमा संघ रहेको विगतको इतिहासलाई समेत स्मरण गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता बस्नेतले सुशासनको पक्षमा र भ्रष्टाचार, विकृति, विसंगती, महंगीलगायतका विरुद्धमा संघले जनपक्षीय नेतृत्व गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य तथा मध्यपुरका पूर्वमेयर मदनसुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, संघका केन्द्रीय सचिव खेम शर्मा, निर्वाचन आयोगका प्रमुख बलराम बेलवासे, केन्द्रीय सदस्य सुवेदी, रेणु श्रेष्ठ, जिल्ला अध्यक्ष रविन थापालगायतका संघका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
१४ गते मदन भण्डारी जन्मोत्सवको अवसरमा शुरु भएको कार्यक्रम २३ गते सम्पन्न हुने संघले जनाएको छ । उपत्यकाका तीनवटै जिल्लाको सवै स्थानीय तहका वडादेखी छनोट गरी एक पालिका एक विजेता छनोट हुनेछन् । प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीय तहका सबै २२४ वडाका १६ देखि २४ उमेर समूहका युवाहरुको झण्डै ५०० फुटसल टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट एक जना खेलाडी र उत्कृष्ट एक गोल रक्षकलाई समान १०(१० हजार दिइनेछ । २२ गतेसम्म छनोट चरणको खेल हुने र २३ गते फाइनल प्रतिष्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
तपाईको बिचार