काठमाडौँ, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालमा उत्पादित विद्युत्को व्यापार सुनिश्चित गर्न सके नेपालमा खर्बौंको वैदेशिक लगानी आउन सक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए । उनले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए । उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।
उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल–भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको पनि बताए । उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको पनि बताए ।
आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले परिसंघले सुरु गरेको मेक इन नेपाल स्वदेशी अभियानलाई नेपाल सरकारले पनि अपनत्व लिएको उल्लेख गर्दै उनले यो अभियानमार्फत् औद्योगीकरण, उत्पादन बृद्धि, स्वदेशी वस्तु तथा सेवाहरुको गुणस्तर बृद्धि तथा निर्यात प्रबद्र्धन गर्दै अर्थतन्त्रको सवलीकरणमा योगदान गर्ने विश्वास सरकारले लिएको बताए ।
निजी क्षेत्रसँगको सहकार्य बिना दीगो विकास सम्भव छैन भन्नेमा आफु स्पष्ट रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको जानकारी गराए । त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः देखा पर्दै गयो र अहिलेसम्म आउँदा अर्थतन्त्र सुधारतर्फ गएको स्पष्ट देखिएको बताउदै उनले उक्त सन्दर्भमा तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन, निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न, साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा छरितोपन र प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्न, ब्याजदर घटाउने उपायहरूको खोजी गरी लागू गर्न, पूँजीगत खर्चको सामथ्र्य बढाउन र अर्थतन्त्र सुधारका निम्ति आवश्यक पर्ने नीतिगत, कानुनी र व्यावहारिक कदम चाल्न सरकारका तर्फवाट भइरहेका पहलप्रति यहाँहरु जानकार नै हुनुहुन्छ । सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारका लागि नीतिगत तथा संरचनागत सुधार गर्न प्रतिबद्ध रहेको बताए ।
तपाईको बिचार