'स्वतन्त्र रूपमा हिडडुल र सेवा लिन पाउने अधिकारबाट बञ्चित हुनुपर्यो'

‘स्वतन्त्र रूपमा हिडडुल र सेवा लिन पाउने अधिकारबाट बञ्चित हुनुपर्यो’

755

काठमाडौँ, २ असार । अपाङ्गतामैत्री भौतिक संरचना र सञ्चारको अभावमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्यलगायतका विविध पक्षमा बाधा पुग्दा मानव अधिकारकै हनन् भइरहेको सरोकारवालाले बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सञ्जय बान्तावाले आफु व्ह्ीलचियर प्रयोगकर्ता भएकोले राजधानीकै सडकमा, सार्वजनिक साधनमार्फत यात्रा गर्न, सिंहदरवारभित्रका मन्त्रालय तथा कुनै पनि स्थानमा सहजै पुगेर आवश्यक सेवा र भेटघाट समेत गर्न नसकेको तितो अनुभव सुनाउनुभयो । राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले अपाङ्गता भएका व्यक्तिका लागि राजधानी र यहाँका सार्वजनिक सेवा प्रदायक सबै निकाय दुर्गम छन्, यसबाट स्वतन्त्र रूपमा हिडडुल गर्न पाउने, सेवा लिन पाउने अधिकारबाट बञ्चित हुनुपरेको बताउनुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव जमुना मिश्रले नेपालले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय महासन्धी र यस क्षेत्रका व्यक्तिलाई समान अधिकारको प्रत्याभूति दिलाउन बनेका ऐन, कानुन र निर्देशिकाबारे चर्चा गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सभासदस्य प्रकाश पन्तले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका–२०६९ बनेपछि त्यसको कार्यान्वयनको जिम्मेवारी लिन सरोकारवाला मन्त्रालयहरूले आनाकानी गरेकोले पहुँचयुक्त भौतिक संरचनाहरू बन्न नसकेको बताउनुभयो । उहाँले उक्त निर्देशिकाको कार्यान्वयनका आवश्यक बजेटको अभाव देखाउने र अनुगमन पनि नहुने प्रवृत्ति व्याप्त रहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक विभागका प्रमुख कल्पना नेपाल आचार्यले उक्त निर्देशिकाको पूर्ण कार्यान्वयनका लागि सम्वन्धीत निकायलाई आयोगले गरेको सिफारिसको सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले दोभाषेको तथा अपाङ्गता भएका व्यक्तिले बोलेको बुझ्ने व्यक्तिको अभावमा स्वास्थ्य उपचार सेवा र विभिन्न हिंसाको घटनामा न्याय पाउन कठिन हुने र बलात्कारलगायतका जघन्य अपराध पनि मेलमिलापमा टुङ्ग्याउनुपर्ने अवस्था रहेकोले अपाङ्गतामैत्री सञ्चार व्यवस्थाका लागि राज्यले ध्यान दिन आयोगले सिफारिस गरेको बताउनुभयो ।

राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घका अध्यक्ष किरण शिल्पकारले सार्वजनिक यातायात, अस्पताल, मन्त्रालय, विद्यालय, सङ्ग्रहालय, सिनेमाहल, शौचालयलगायतका सार्वजनिक सेवा प्रदान गर्ने संस्था अपाङ्गतामैत्री बनाउँदा अपाङ्गता भएका व्यक्तिले मात्र नभई ज्येष्ठ नागरिक, विरामी, बालबालिकाले समेत सहज ढङ्गले सेवा लिन पाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सङ्घले विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा विगत २५ वर्षदेखि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा, अपाङ्गता अधिकारबारे सचेतना, सिप विकास, ललितकलामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा उहाँहरूको सिर्जना प्रदर्शनीका लागि सहयोग गर्दै आएको बताउनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर