राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री दाहाल

राष्ट्रिय सुरक्षाका लागि नागरिकमा एकताको भावना विकास आवश्यक : प्रधानमन्त्री दाहाल

647

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षाका लागि आम नागरिकमा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना विकास गर्दै जानुपर्ने बताउनुभएको छ ।

आज राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उहाँले राष्ट्रिय सुरक्षाको विषय सैनिक शक्ति मात्रै हो भन्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभयो ।

प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन लागिपरेको बताउँदै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवं भौगोलिकलगायत अन्य सबै पक्षको समग्र सुरक्षा भएकोमा जोड दिनुभयो ।

“राष्ट्रिय सुरक्षाका विषयमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवं मानवीय पक्षलगायत पक्षलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ”, उहाँले भन्नुभयो ।

नेपालको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय सुरक्षाको विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गर्नुभयो । “विश्व परिवेशमा भइरहेका घटनाका कारण हरेक राष्ट्रको राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यो तथ्य नेपालजस्ता मुलुकका लागि झन् बढी महत्वपूर्ण हुने गर्दछ”,उहाँले भन्नुभयो ।

राष्ट्रिय सुरक्षाका सम्बन्धमा भएको क्रमिक विकास र परिवर्तन, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा उदीयमान शक्ति राष्ट्रहरु, सूचना एवं प्रविधिको तीव्रतर र बहुआयमिक विकासका साथै राष्ट्रिय रुपमा राजनैतिक, सामाजिक, सांस्कृतिक एवं आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले सुरक्षामा महत्व राख्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानले निर्देशित गरेको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै बहुजाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायमा पारस्परिक सद्भाव सहिष्णुता र ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय सुरक्षा प्रणालीलाई विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

‘राष्ट्रिय सुरक्षा नीति–२०७३’ लाई परिवर्तित समयको मागअनुसार समसामयिक परिमार्जन गरी ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ कार्यान्वयनमा ल्याइसकिएको उहाँको भनाइ छ । उहाँले यसबाट नेपालका सबै सुरक्षा निकायलाई सबल, सक्षम, सुदृढ, व्यावसायिक बनाउन लागिपरेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले आन्तरिक एवं बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान, विश्लेषण गरी प्रतिरक्षा नीति, आन्तरिक सुरक्षा तथा सार्वजनिक सूचना नीति, परराष्ट्र नीति तथा अर्थ नीति तर्जुमा गरी राष्ट्रिय सुरक्षा सुदृढ बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर