कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रचण्ड र माधवले गरे: अध्यक्ष ओली

कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रचण्ड र माधवले गरे: अध्यक्ष ओली

793

विराटनगर, १२ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरेको आरोप लगाएका छन् ।

विराटनगरमा आयोजित पार्टी कोशी प्रदेश कमिटी अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र माधवले दक्षिणपन्थीहरुको साथमा लागेर कम्युनिष्ट पार्टीको सरका ढालेको बताए । उनले भने, ‘आफूलाई प्रधानमन्त्री हुँदा प्रचण्ड र माधव नेपालहरूले दक्षिणपन्थीहरूको साथ लागेर हटाएका हुन् । कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रचण्ड र माधवले गरे । अहिले उनीहरू नै वाम एकताको अनावश्यक कुरा उठाइरहेका छन् । यी कोही पनि वाम होइनन्। हामी मात्रै वाम शक्ति हौं । एमाले बलियो बनाएर अघि बढौं । अन्यत्र शिला खोज्न नलागौं ।’

मुलुकका सबै वडामा एमालेलाई ५१ प्रतिशतभन्दा माथिको अवस्थामा पुर्याउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । एमालेले भनेको बाटोमा हिँडे मात्रै देश बनाउन सकिने दाबी गर्दै ओलीले एमाले बाहेकका दलहरूले देश बनाउन नसक्ने पनि ठोकुवा गरे । ८४ को चुनावलाई लक्ष्य बनाएर हरेक वडामा एमालेलाई पहिलो बनाउने काममा लाग्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले आगामी दिनमा एमाले एक्लै शक्तिशाली हुनुपर्ने बताए । ‘मुलुकको हरेक वडामा कम्तीमा ५१ प्रतिशतको अवस्थामा एमालेलाई पुर्यादउन पर्योल’, ओलीले भने, ‘मिसन ८४ को लक्ष्य र आधार त्यही हो । हामीले मात्रै हो देश बनाउन सक्ने । तर, एमालेले देश बनाउने भयो भन्ने त्रासले आतिएकाहरूले अनेक षड्यन्त्र गरेर पार्टी फुटाए । सरकार ढाले ।’

अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न र नभए स्वस्थ प्रतिस्पर्धा गर्न आकाङ्क्षीहरूलाई आग्रह गरेका छन् । ‘पार्टीमा अहिले एकता चाहिएको छ, दुनियाँ विरूद्धमा लाग्दा पनि एमाले बलियो छ’, उनले भने, ‘पार्टीमा प्रतिस्पर्धा हुनसक्छ । तर, त्यसलाई हार्दिक र एकतावद्ध रूपमा लिनेगरी सबैले ग्रहण गर्नुपर्छ ।’

कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ। हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन् । एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। यीमध्ये विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङ चुनाव लडेरै भए पनि नेतृत्वमा जाने मानसिकतामा छन् । अध्यक्ष न्यौपाने भने सर्वसम्मत भए दोहोरिने अन्यथा प्रतिष्पर्धामा नजाने सोचमा रहेको नेताहरू बताउँछन् । पार्टी नेताहरू सहमतिमा प्रदेशको नेतृत्व चयन गर्नुपर्ने पक्षमा भए पनि दाबेदारहरू भने परिआए चुनाव लड्ने मनस्थितिमा छन् ।

तपाईको बिचार

सम्बन्धित खबर