परिचय
स्वस्थ सम्बन्धहरू ती हुन् जहाँ किशोरकिशोरीहरूले सुरक्षित रूपमा आफू र अरूप्रति आदर महसुस गर्न र व्यक्त गर्न सक्छन्। यो आपसी विश्वास, इमानदारी, र तर्क-वितर्कका बेला समझदार र शान्त भई राम्रो संचार तथा सहमतिबाट आउँदछ। यसको विपरीत, अस्वस्थ सम्बन्धहरूमा सामान्यतया शक्ति असंतुलन हुन्छ, उदाहरणका लागि: त्यहाँ सहमति, आपसी विश्वास, सम्झौता, वा इमानदारी हुँदैन। सम्बन्धमा रहेका एक वा दुवै व्यक्तिलाई कुराकानी गर्न र आफ्नो रिस नियन्त्रण गर्न समस्या हुन सक्छ। किशोरावस्थामा यस्ता समस्या देखिने गर्दछन् जसलाई ‘स्वस्थ सम्बन्धको शिक्षा’ मार्फत बेलैमा किशोरकिशोरीहरू माझ सम्बोधन गर्नु पर्दछ।
हामी सबै मानिसका धेरै सम्बन्धहरू छन्। घर परिवार, आफन्त, साथी, सहकर्मी आदिका रूपमा हामीले सम्बन्ध स्थापना गर्दछौं। दुई पक्ष, समूह वा व्यक्तिबीच आपसमा कुराकानी, व्यवहार, र एकले अर्कोलाई हेर्ने दृष्टिकोण आदिबाट सम्बन्धको निर्माण हुन्छ। परिवारमा सम्बन्धलाई असल बनाउन अभिभावक र छोराछोरी दुबैको भूमिका हुन्छ। जवान हुँदै जाँदा किशोरकिशोरीका सम्बन्ध साथी र प्रेमी-प्रेमिकासम्म बिस्तार हुन सक्छ। यस्तो हुनु सामान्य भएतापनि यस्तो सम्बन्धलाई सही ढंगले व्यवस्थापन गरी सधैं सकारात्मक बनाउने प्रयास गर्नु पर्दछ।
सम्बन्धको अर्थ
दुई पक्ष, समूह वा व्यक्तिबीच आपसमा हुने कुराकानी, गरिने व्यवहार, र एकले अर्कोलाई हेर्ने दृष्टिकोण आदि नै सम्बन्ध हो। यो जन्म, विवाह, आवश्यकता, काम वा अन्य कारणले व्यक्ति, परिवार, समाज र समुदायबीच आपसको जोडाईको अवस्था हो। हरेक मानिसलाई सम्बन्ध स्थापना गर्ने अधिकार छ। दुई देशबीचको सम्बन्ध देखि लिएर साथी-साथीबीच, घरका सदस्यबीच, सहकर्मीबीच, विद्यार्थी र शिक्षकबीच तथा प्रेमी प्रेमिकाबीच पनि सम्बन्ध हुनसक्छ। आपसी सम्बन्धको क्रममा विभिन्न किसिमका सम्बन्धहरू बन्दछन् जस्तै: पारिवारिक सम्बन्ध, साथीसितको सम्बन्ध, विपरित यौनिक यौन सम्बन्ध, समलिंगी सम्बन्ध, प्रेम सम्बन्ध, मनोरञ्जनात्मक सम्बन्ध, काल्पनिक सम्बन्ध, आदि।
विभिन्न कारणले मानिसहरू एक आपसको नजिक आइपुग्छन् र कुनै सम्बन्धमा गाँसिन्छन्। यस्ता सम्बन्धहरू परिवारका सदस्यदेखि अन्य व्यक्तिहरू बीचमा निर्माण हुन सक्दछन्। तर सम्बन्ध स्थापना गर्ने प्रमुख मन्त्र भनेको आपसी सम्मान हो। मानिसहरू संवेग, सामिप्यता, प्रेम, आवश्यकता, अधिकार र जिम्मेवारीका साथै स्वस्थ वा अस्वस्थ वा बलजफ्ती पनि सम्बन्धमा गाँसिएका हुन्छन्।
विश्वास र इमान्दारिताले मात्र आपसी सम्बन्धलाई सकारात्मक बनाउँछ। जस्तोसुकै सम्बन्धमा पनि यी दुईवटा कुरा छैनन् भने त्यो सम्बन्ध सकारात्मक हुन सक्दैन। कुनै पनि द्वेष, स्वार्थ र लोभ बिनाको सम्बन्धमा सकारात्मकता पाइन्छ। सम्बन्धमा सकारात्मकता ल्याउन दुवै पक्षले एक अर्काका कुराहरू सुन्ने, सम्मान गर्ने, शंका उपशंका नगर्ने र शक्ति तथा जिम्मेवारीमा सन्तुलन ल्याउनुपर्दछ।
परिवारभित्र सम्बन्धलाई दिगो बनाउन अभिभावकको भूमिका
परिवारभित्र अभिभावकका मूलभूत भूमिका तथा जिम्मेवारीहरू परिवारको आवश्यकता परिपूर्ति गर्ने, संरक्षण प्रदान गर्ने र मैत्रीपूर्ण पारिवारिक वातावरण बनाउनेमा केन्द्रित हुन्छन्। उनीहरू परिवार भित्र अनुशासन कायम गराउने, सन्तानको व्यक्तित्व विकासमा सहयोग गर्ने, स्वावलम्बन बनाउन हौंसला प्रदान गर्ने, किशोर र किशोरी बीचको भेदभाव हटाउन लैङ्गिक समानता कायम गर्ने, यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेत गराउने, जिम्मेवारीहरू बाँडफाँड गर्दिने र स्वच्छ पारिवारिक वातावरणमा सामाजिक मूल्य-मान्यता, आदर्श, पारिवारिक संस्कार र धर्म-संस्कृतिको अभ्यास गराउने जिम्मेवारीहरू पूरा गर्दछन्। किशोरावस्थामा धेरै किशोरकिशोरीलाई यस्ता जिम्मेवारीको बोध गराउनु पर्दछ। भोली गएर अभिभावक बन्दा कस्ता भूमिका निर्वाह गर्नु पर्ने रहेछ भन्ने हेक्का हुना साथ उनीहरू आफ्ना अभिभावकसँग असल सम्बन्ध कायम गर्न अघि बढ्न सक्छन्।
असल पारिवारिक सम्बन्ध कायम गर्न छोराछोरीको भूमिका
परिवारभित्र छोरा वा छोरीले पनि असल पारिवारिक सम्बन्ध कायम गर्न विभिन्न भूमिकाहरू निर्वाह गर्नुपर्दछ। अभिभावकलाई आदर गर्ने, उनीहरूलाई भावनात्मक रुपमा सहयोग पुर्याउने, परिवारमा आइपरेका चुनौतिहरूलाई समाधान गर्न कोसिस गर्ने, बाबु र आमा दुबैको महत्व बुझ्ने, आफ्ना कामहरू आफै गरेर सक्षमता को परिचय दिने, शिक्षा आर्जनमा सक्रिय रहने, सबैसँग घुलमिल हुने, आफ्ना अनुभवहरू अरुलाई बाँड्ने, आफ्ना समस्याहरू उपयुक्त माध्यम द्वारा अभिभावकलाई सूचित गर्ने, परिवारका सदस्यहरूको सरसल्लाह लिने, अभिभावकले आफूप्रति राखेको आशालाई मनन गर्ने, दिइएका जिम्मेवारी हरू पुरा गर्ने लगायतका कामहरू गर्नु पर्दछ। यस्ता भूमिका तथा जिम्मेवारीहरू समय र उमेर अनुसार परिवर्तन हुँदै जान्छन् भन्ने कुराको अनुभूति गर्नु पर्दछ।
बाल्यावस्थादेखि यौवनावस्था हुँदै व्यस्क हुने प्रक्रियामा किशोरकिशोरीहरूका अभिभावक र आमाबाबुसँग विभिन्न प्रकारका मतभेद, द्वन्द्व र असमझदारीहरू पैदा हुन सक्दछन्। यस्ता असमझदारीहरू हुनु सामान्य कुरा हो जसलाई स्वस्थकर तरिकाबाट समाधान गर्न सकिन्छ। किशोरकिशोरीहरूमा सूचना-संचार सामग्रीको बढ्दो पहुँच, तथा विश्वव्यापीकरणको प्रभावस्वरूप अभिभावक तथा किशोरकिशोरीहरूबीच समाज, प्रविधि, शिक्षा, जीवनशैली आदिको बुझाई तथा प्रयोगमा भिन्नता हुनसक्दछ। यो भिन्नताको समयमै उचित सञ्चार र संवाद र समाधान नगर्दा असमझदारीहरू बढ्दछन्।
साथीहरूसँगको सम्बन्ध
जवान हुँदै जाँदा किशोरकिशोरीहरूका स्नेह तथा सम्बन्धको संसार अभिभावक वा परिवारका सदस्यहरूबीचमा मात्रै सिमित रहँदैन। उनीहरूको सम्बन्ध साथीहरूसँग बिस्तार हुँदै जान्छ। यो बेला साथीहरूसँगको सम्बन्ध धेरै नै महत्वपूर्ण लाग्न थाल्छ। अभिभावक सँग छलफल गर्न नसकिने कतिपय विषयवस्तु साथीहरूसँग छलफल गर्न थाल्छन्। आफ्ना भावनाहरू दौँतरी सङ्ग व्यक्त गर्न मन लाग्नुका साथै साथी दौंतरीहरूको धेरै विश्वास लाग्ने हुन्छ।
यसैबेला उनीहरू साथीसंगीहरूको प्रभावमा पर्न सक्दछन् जसलाई स्वाभाविक मानिन्छ। यसबेला उनीहरूको परिवारभन्दा बढी साथीसंगीसँग मिलेर नयाँ नयाँ कुराहरूको आविस्कार र प्रयोग गरिरहेका हुन्छन्। उनीहरूको बानी व्यहोरामा पनि परिवर्तन आउने गर्दछ र यी परिवर्तनहरू सकारात्मक तथा नकारात्मक दुवै हुन सक्दछन्। साथी दौतरीसँग सम्बन्ध बिस्तार हुनु ठिक हो तर त्यो सम्बन्ध सकारात्मक हुनुपर्दछ।
साथीहरूसँगको सम्बन्धको व्यवस्थापन
किशोरावस्थामा त्यसैपनि धेरै साथी बनाउन मन लाग्छ। साथी केटा, केटी वा यौनिक अल्पसंख्यक जो पनि हुन सक्दछ। साथी असल वा खराब पनि हुन सक्दछ। तर साथी छनौट गर्न नजान्दा पछि गएर त्यस्तो सम्बन्धले दुःख दिन्छ। किशोरकिशोरीलाई सकारात्मक सम्बन्ध स्थापित गर्न चालचलन, नम्रता तथा हार्दिक आमन्त्रणको स्वभावले महत्वपूर्ण भूमिका खेल्दछ। यस्तो सम्बन्ध जबर्जस्तीमा नभई परस्पर आदर सम्मानमा आधारित हुनुपर्दछ।’
साथीहरूसँग सम्बन्ध विकसित हुँदै जाँदा निकटता पनि बढ्दै जान्छ। यस्तो अवस्थामा मित्रता मात्र कायम राख्ने कि अन्य सम्बन्ध पनि बनाउने भन्ने अवस्था आउन पनि सक्दछ। यौनिकताका हिसाबले किशोरकिशोरीहरूले मित्रतालाई सम्मानित राख्नकालागि यौनिक व्यवहारलाई कति दुरिमा राख्ने भन्ने कुरामा सधैं सचेत रहनुपर्दछ। मिल्ने साथीहरू बनाउने, छाड्ने र नयाँ साथीहरू बनाउने गतिविधि निरन्तररुपमा भइरहन्छ भन्ने कुरा पनि बुझ्नु पर्दछ। असल साथीहरूको छनौट गरी अनुभव र दुःखसुख साटासाट गर्ने, सहानुभूति दिने, इमान्दार रहने, विश्वास गर्ने, गोपनीयता कायम राख्ने, सम्मान गर्ने र निरन्तर संवाद गर्ने कार्यले छातीहरू सँगको सम्बन्धलाई मजबुत बनाउँछ।
विपरित यौनिक साथीसँगको सम्बन्धको व्यवस्थापन
किशोरकिशोरीहरूको सम्बन्धहरू विपरीत लिङ्गीसँग हुनुपनि स्वाभाविक हो। किशोरावस्थामा विपरित यौनिक साथीसँगको सम्बन्धमा सधै सम्मान, सहमति र सतर्कता आवश्यक पर्दछ। किशोरावस्थामा शारीरिक तथा मानसिक परिवर्तनहरू भइरहेका हुन्छन्। यौन हर्मोनको विकासले विपरीत यौनिकप्रति आकर्षण बढ्न सक्दछ र कहिलेकाहीँ उनिहरू आफ्ना सम्बन्धमा गम्भीर हुन पुग्दछन्।
विपरित यौनिकसँगको सम्बन्ध रोमान्चित सम्बन्धमा परिवर्तन हुन सक्ने सम्भावना पनि धेरै हुन्छ। विपरित यौनिक संगको सम्बन्धलाई रोमाञ्चित र प्रेम सम्बन्धमा परिवर्तन गर्ने कि नगर्ने भन्नेबारेमा पनि उनीहरूले विशेष विचार पुर्याउनु पर्दछ। अन्यथा यस्ता सम्बन्धहरू यौनिक व्यवहार सम्म पनि पुग्न सक्दछन्। यो समयमा गरिने यौनिक निर्णयहरू अपरिपक्व हुने भएकाले सतर्कता अपनाउनु पर्दछ। उनीहरूको वृत्ति विकासमा बाधा पुग्न सक्ने भएकाले यो समयमा यौनिक व्यवहारलाई प्राथमिकता दिनु हुँदैन। आफ्नो पारिवारिक मूल्य मान्यता, संस्कृति, प्रतिष्ठा र सम्बन्धलाई चोट नपुर्याउने गरी विपरित यौनिक साथीसँग सम्मानजनक र सहयोगात्मक सम्बन्ध कायम गर्नुपर्दछ।
डेटिङ्
कुनै सम्बन्धमा रहेका दुई व्यक्तिले समय र स्थान निर्क्योल गरेर भेटघाट र कुराकानीको आयोजना गर्ने प्रक्रियालाई डेटिङ् भनिन्छ। आजभोलि डेटिङ भन्नाले अविवाहित केटा र केटीको भेटघाट र कुराकानी हो भनेर मात्र पनि बुझिन्छ। डेटिङ्को माध्यमबाट केटा र केटीको विवाहपूर्व आफूले इच्छाएको व्यक्तिसित आफ्ना मनोभावना हरू साटासाट गर्ने अभ्यासले एकले अर्काको चाहना, बानी-व्यहोरा, चरित्र, संस्कृति र लक्ष्य आदि बुझ्न सजिलो पार्छ।
एकअर्काले राम्ररी नबुझी हतारमा विवाह गर्दा पछि पछुताउनु नपरोस भनेर सामान्यतया प्रेम सम्बन्धमा रहेका केटा र केटीले डेटिङ् गर्ने गर्दछन्। तर डेटिङ्को नाममा उमेर नै नपुगी रोमान्टिक कार्य गर्ने र समय बिताउने लक्ष्यले डेटिङ् गर्दा यसबाट नकारात्मक असर पनि पर्न सक्छ। डेटिङ्को दुरुपयोग गरी यौन सम्बन्ध कायम गर्न र फाइदा उठाउन खोज्ने प्रवृत्ति बढेकाले यो जोखिमपूर्ण हुँदै गइरहेको पाइन्छ।
प्रेम सम्बन्धमा रहेका उमेर पुगेका केटाकेटीले गर्ने प्रभावकारी डेटिङ् नियोजित, सपष्ट, विश्वासिलो र सम्मानपूर्ण हुन्छ। डेटिङमा दुवैले आफ्ना कुराहरू साटासाट गर्दछन्। प्रभावकारी डेटिङ्मा भावी जीवनका योजनाहरू स्पष्ट रूपमा व्यक्त गर्ने, पछि गएर प्रभावित गर्न सक्ने विषयवस्तुहरू छर्लङ्ग पार्ने र एकअर्कालाई नजिकबाट बुझ्ने कार्य हुन्छ।
निश्कर्ष
सम्बन्धहरू परिवारका सदस्य, साथी, वा अन्य व्यक्तिहरू बीचमा निर्माण हुन सक्दछन्। विश्वास र इमान्दारिताले मात्र आपसी सम्बन्धलाई सकारात्मक बनाउँछ। परिवारभित्र सम्बन्धलाई दिगो बनाउन अभिभावकको भूमिका हुन्छ भने असल पारिवारिक सम्बन्ध कायम गर्न छोराछोरीको भूमिका हुन्छ। किशोरावस्थामा साथीहरूसँगको सम्बन्ध धेरै नै महत्वपूर्ण लाग्न थाल्छ तर साथी छनौट गर्न नजान्दा पछि गएर त्यस्तो सम्बन्धले दुःख पनि दिन्छ। किशोरावस्थामा विपरित लिङ्गी साथीसँगको सम्बन्धमा रूचि बढ्नु सामान्य हो तर यस्तो सम्बन्धमा पनि सधै सम्मान, सहमति र सतर्कता आवश्यक पर्दछ। उमेर पुगेका केटाकेटीले नियोजित, सपष्ट, विश्वासिलो र सम्मानपूर्ण डेटिङ् गर्नु गर्नु नराम्रो होइन। यस्ता कुराहरू स्वस्थ सम्बन्धको शिक्षामार्फत उचित समयमा घर परिवार र विद्यालयमा किशोरकिशोरीलाई सिकाउनु पर्दछ।
तपाईको बिचार