काठमाडौँ, १९ भदौ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्नमिल्ने भएको छ ।
विश्वविद्यालयले परीक्षालाई व्यवस्थित पार्न सोमबार पूर्वाञ्चल विश्वविद्यालय, विश्विद्यालयबाट सम्बन्धन लिएका निजी कलेजको संगठन पीयूक्यान र मिडासबीच परीक्षा व्यवस्थित बनाउन सम्झौता भएको हो । विश्वविद्यालयलाई पूर्ण रुपमा स्वचालित बनाउन गत वर्षदेखि प्रवेश परीक्षाको फारम अनलाइनबाट सुरु भएको थियो । यसलाई निरन्तरता दिन यस वर्षको शैक्षिक सत्रदेखि सबै परीक्षा फारामहरु अनलाइन गराउन लागेको उपनियन्त्रक मेनुका श्रेष्ठले बताइन् । अनलाइन प्रणालीले शैक्षिक क्यालेन्डर कार्यान्वयनमा सहज हुने उनले बताइन् ।
परीक्षा र नतीजा समयमा नहुँदा विद्यार्थीलाई परेको समस्या हटाउन परीक्षाको फाराम अनलाइनबाटै भर्ने सफ्टवेयरको व्यवस्था गर्न लागेको पीयूक्यानका अध्यक्ष शम्भु कुमार दाहालले बताए । मिडास एजुकेसनका टेक्निकल म्यानेजर रवीन्द्रजंग थापाले विश्वविद्यालयलाई आवश्यक सफ्टवेयर ४ महिनाभित्रै हस्तान्तरण गरिने बताए । अब बन्ने सफ्टवेयरले विद्यार्थी, कलेज र विश्वविद्यालयलाई परीक्षाको फाराम सम्बन्धी काम गर्न सहज हुने उनले बताए ।
तपाईको बिचार