सुन तस्करीमा महराको संलग्नता : छोरा पक्राउ, बाबु निगरानीमा मात्रै

सुन तस्करीमा महराको संलग्नता : छोरा पक्राउ, बाबु निगरानीमा मात्रै

787

काठमाडौँ, १४ भदौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा पूर्वसभामुख महरासमेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखिएको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । बाबुछोराविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, स्वास्थ्य अवस्थाको कारण देखाई बाबु महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ । ‘यो विषय अनुसन्धानकै क्रममा भएकाले थप बोल्न मिल्दैन,’ सीआईबीका एसपी नवराज अधिकारीले भने ।

महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ ।

यस्तो छ महराको सम्पर्कमा रहेका चिनियाँ तस्कर र भरियाबीच कमिसनको संवाद

यो सञ्जालसँग पटक–पटक सम्पर्क भए पनि महरा बाबुछोरालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले निकै ढिलाइ गरेको थियो । उनीहरूले दुबईबाट गत पुस १० मा सुन लुकाएर ल्याएको भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेपछि त्यसलाई छुटाउने प्रयास गरेका थिए । सुरुमा भेपमा सुन छ भन्ने भन्सारका कर्मचारीले पत्तै पाएका थिएनन् । चिनियाँ नागरिक दाओजिन वाङले भेप छुटाउन महरा र उनका छोरा राहुलमार्फत भन्सारका कर्मचारीलाई दबाब दिएका थिए । बाबुछोराले त्यस क्रममा भन्सारका कर्मचारीलाई फोन र भेटेर दबाब दिए । तर, जफत सामान लिलामी प्रक्रियामा जाने भन्दै कर्मचारीले कुरा नसुनेपछि सामान गोदाममै रोकिए । सामान लिलामी प्रक्रियामा लैजान प्रक्रिया अघि बढाउनु अगावै भेप गोदामबाट चोरी भएपछि मात्रै त्यसभित्र ९ किलो सुन रहेको खुलेको थियो । भन्सारले सामान चोरी भएको विषयमा अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।

सुन ल्याउने गिरोह त्यसबीच फरार भइसकेको थियो भने सामान बुझ्न गएका अर्का चिनियाँ नागरिक वाङ पनि भागिसकेका थिए । सुन चोरी भएको विषयमा अनुसन्धान गरी सीआईबीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा असार २७ मा पेस गरेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंमा संगठित रूपमा समूह खडा गरी सुन चोरिएको कसुरमा मुद्दा दायर भयो ।

तर, महरा बाबुछोरामाथि अनुसन्धान नै भएको थिएन । मुद्दा चोरीमा मात्रै गएको र सुन ल्याउने समूहमाथि अनुसन्धान भइरहेको जिकिर सीआईबीले गरिरहेको थियो । थप अनुसन्धान र प्रमाणले तस्करीमा महरा बाबुछोरा जोडिएको भेटिएपछि बुधबार राहुल पक्राउ परेका हुन् ।

करिब ८ महिनाअघिको भेप प्रकरणमा सत्तारूढ माओवादीका उपाध्यक्ष महरालाई जोगाउन स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल नै लागिपरेको भन्दै विपक्षी राजनीतिक दलदेखि जनस्तरबाटै विरोध भइरहेको थियो । सीआईबीले भने गोदाममा राखिएका भेप चोरीमा मात्रै मुद्दा चलेको र सुन ल्याउने समूहमाथि अनुसन्धान भइरहेको बताएको थियो ।

महरा बाबुछोराको सम्पर्कमा रहेका दाओजिन वाङले यसअघि पनि पटक–पटक स्थल र हवाई मार्गबाट सुन भित्र्याएको अडियो फेला परेपछि तस्करीको जालो अझ माथिसम्मै भएको आशंका छ । केही दिनअघि महरा बाबुछोरा जोडिएको विषयलाई लिएर सरकारी वकिल, सीआईबी र गृह मन्त्रालयका अधिकारीबीच अनौपचारिक बैठक बसेको थियो । त्यस क्रममा महरालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने कुरा उठेपछि सीआईबीले पक्राउ पुर्जी लिएर राहुललाई निगरानीमा राखेको थियो । सुन भित्र्याउने वाङसहित चिनियाँ गिरोह भने फरार छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

तपाईको बिचार