मन्त्री बस्नेतद्वारा टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन निर्देशन

मन्त्री बस्नेतद्वारा टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन निर्देशन

733

काठमाडौँ, ६ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा राजधानीमा आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा बोल्दै मन्त्री बस्नेतले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

नेपाल जस्तो भौगोलिक विकटता भएको देशका लागि टेलिमेडिसिन सेवा बरदान नै सावित भएको बताउदै मन्त्री बस्नेतले त्यस क्षेत्रमा अहिले देखिएका कमि कमजोरी हटाएर थप आधुनिक प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सेवालाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेकोमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ सूचना प्रविधिको विकास नभएसम्म कुनै पनि देशले विकासमा फड्को मार्न सक्दैन । स्वास्थ्य सेवामा पनि टेलिमेडिसिनको विकास नहुन्जेलसम्म दूरदराजका जनताले सहज उपचार पाउन निकै गाह्रो छ । त्यसैले हामीले टेलिमेडिसिनमा जोड दिनै पर्छ । ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिगत ७ वर्षदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरेर केही काम भइरहेको जानकारी गराउदै बस्नेतले दक्ष जनशक्तिको अभाव भएका ठाउँमा टेलिमेडिसिनको माध्यमबाट सेवा सञ्चालन गर्नु पर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू लागि परेको स्मरण गर्दै मन्त्री बस्नेतले स्वास्थ्यका सबै कर्मचारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ काम गर्नेहो भने थोरै समयमा धेरै काम गर्न सकिने दावी गरे ।

तपाईको बिचार