काठमाडौँ, ३० साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गरेका छन् ।
दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरूद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे । आफूमाथि मिथ्या आरोप सञ्चारमाध्यमहरूले लगाउन खोजेको भन्दै उनले गलत प्रचारबाजी नगर्न आग्रह गरे। सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई आफूले फलफूल व्यापारीको रूपमा मात्रै चिनेको र त्यही रूपमा मात्रै कुरा गरेको बताएका थिए ।
फलफूल व्यापारीबाहेक वाङलाई अर्को रूपमा नचिनेको र उनीसँग सुनका बारेमा कहिल्यै फोनमा कुरा पनि नभएको भन्दै महराले आफ्नो बचाउ गरे ।
आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन आग्रह गर्न वाङ आँफूकहाँ आएको भने महराले स्वीकारे । सोही आधारमा आफूले भन्सारका कर्मचारीसँग कुरा गरेको र हेरेर कानुनअनुसार काम गर्न मात्रै आग्रह गरेको उनले बताए । आशंका लाग्छ भने सुन तस्कर प्रकरणमा राज्यलाई सघाउन आफू तयार रहेको पनि उनले बताए ।
महराले भने, ‘बिनाकारण सुन प्रकरणमा मलाई सञ्चारमाध्यमले मुछिरहेका छन् । यसरी हुँदै नभएको कुरा गलत प्रचार गरिनु सही होइन । त्यो इलोक्ट्रोनिक चुरोटमा के थियो त्यो मलाई थाहा भएन । उनी सुन तस्कर हुन् भन्ने कुरा पनि मलाई थाहा थिएन । मैले पहिले नै अनुसन्धानमा सघाउँछु भनिसकेको छु । अनुसन्धानका लागि बोलाउन भनि पनि सकेको छु, तर हालसम्म मलाई कसैले बोलाएको छैन । म सरकारलाई कुनै पनि छानबिनमा सघाउन तयार छु ।’
तपाईको बिचार