कञ्चनपुर, २० साउन । कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई २ हजार प्रोत्साहन भत्ता वितरण गर्ने भएको छ ।
चालु आर्थिक वर्षदेखि लागु हुने गरी नगरपालिकाले ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तरगत भत्ता वितरण गरिने नगर उपप्रमुख द्रोपती रानाले बताइन् ।
‘भ्रुण परीक्षण गरेर छोरी भए, अपरेशन गरेर फाल्ने चलन छ । त्यसलाई रोक्न हामीले बालिका प्रोत्साहन कार्यक्रम अघि सारेका छौं, यसले भ्रुण चेक गर्ने अपराध कम हुने अपेक्षा राखेका छौं,’ उनले भनिन् । छोरी जन्माउने आमालाई उनीहरूले खोलेको खातामा दुई हजार रकम नगरपालिकाले उपलब्ध गर्ने उपप्रमुख रानाले बताइन् ।
यसअघि बैतडीको दोगडाकेदार गाउँपालिकाले पनि छोरी जन्माउने आमालाई दुई हजार प्रोत्साहन भत्ता दिने कार्यक्रम संचालन गरेको थियो । जसअन्तरगत सयौं महिलाले उक्त भत्ता प्राप्त गरिसकेको गाउँपालिकाले जनाएको छ । सुदूरपश्चिममा छोराको आशामा भ्रुणको लिंग पहिचान गराउने र छोरी भए असुरक्षित गर्भपतन गराउने काम भित्रभित्रै हुने जानकारहरू बताउँछन् ।
‘समाजले छोरा नभई हुँदैन भन्छ, घृणा गर्छ । बुढेसकालमा कसले सहयोग गर्ला, छोरा नभएको परिवार के परिवार भन्छन् । छोरा जन्माउन बाध्य बनाउँछन्,त्यसैले बालिका प्रोत्साहन यस्ता कार्यक्रम सकारात्मक सन्देश प्रवाह हुन्छ,’ उपप्रमुख रानाले भनिन् ।
तपाईको बिचार