सरकारको मुख्य कार्यादेश तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु हो : सञ्चारमन्त्री खरेल

सरकारको मुख्य कार्यादेश तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु हो : सञ्चारमन्त्री खरेल

676

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ।

बुधबार राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालय अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

“यो सरकार ‘जेनजी’ आन्दोलनको जगमा बनेको हो, जसमा सबै राजनीतिक दल र जनताको अपेक्षा निहित छ,” उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ। त्यसअनुसार वातावरण निर्माणमा रासस लगायत सञ्चार माध्यमहरूले पनि भूमिका खेल्नेछन् भन्ने विश्वास लिएको छु।”

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको सरकारले निर्वाचन सम्पन्न गर्न प्रतिबद्धता जनाइसकेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार निर्वाचनसँगै सुशासन कायम गर्नु, भ्रष्टाचार अन्त्य गर्नु, ‘जेनजी’ आन्दोलनका क्रममा भएको जनधन क्षतिको छानबिन र कारबाही गर्नु, साथै प्राकृतिक विपत्तिपछि राहत तथा पुनःस्थापना सुनिश्चित गर्नु पनि सरकारको म्याण्डेटभित्र पर्ने विषय हुन्।

मन्त्री खरेलले आसन्न निर्वाचनको तयारीका क्रममा राजनीतिक दलहरूसँग प्रत्यक्ष र अप्रत्यक्ष संवाद जारी रहेको जानकारी पनि दिनुभयो।

तपाईको बिचार

सम्बन्धित खबर