काठमाडौँ, २२ असोज । तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा प्रवेश गर्ने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइसिसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया–प्यासिफिक (EAP) रिजनल छनोट अन्तर्गत कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
ओमानमा आजदेखि सुरु हुने उक्त प्रतियोगितामा नेपाल र कुवेतबीचको पहिलो खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे हुनेछ। यसअघि नेपाल सन् २०१४ र २०२४ मा सम्पन्न टी–२० विश्वकपमा सहभागी भइसकेको छ।
छनोट प्रतियोगितामा नौ देश सहभागी छन् र टोलीहरूलाई तीन समूहमा बाँडिएको छ। नेपाल समूह ‘बी’ मा परेको छ, जहाँ कुवेत र जापान पनि रहेका छन्। समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्याण्ड छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
नेपालको कप्तानी रोहित पौडेलले गरेका छन् भने उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। टोलीमा कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी समावेश छन्।
तपाईको बिचार