पाँच तारा सहकारीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

पाँच तारा सहकारीद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

639

काठमाडौ, ९ भाद्र। पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले महिला सदस्य लक्षित गरी तीज विशेष तथा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले महिलालाई मनोरञ्जनसँगै सहकारीको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सहकारीका अध्यक्ष भोला नाथ पाठकले तीज केवल खाने–लगाउने संस्कृतिमा सीमित नभई सशक्तिकरण र आपसी खुशी साटासाट गर्ने पर्वका रूपमा लिनुपर्नेमा जोड दिए। उनले महिलाले परिवारदेखि समाज र संस्थासम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै सहकारीमा पनि महिला सदस्य पुरुषभन्दा बढी सक्रिय रहेको बताए।

पाठकले सदस्यहरुको सक्रिय सहभागिता र बचतको कारण संस्थाले ५ करोडको कोष संकलन गरेको र थप ५ करोड संस्थागत लगानीमार्फत उद्यम व्यवसाय अघि बढाउने योजना बनाएको जानकारी दिए। साथै, सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्य लिएको उनले बताए।

महिला समिति संयोजक बिन्दा कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार, कर्मचारी र ठूलो संख्यामा सदस्यहरुको सहभागिता थियो। व्यवस्थापक राधा कडरियाले सहकारीले सदस्य लक्षित विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै, सामूहिक रुपमा तीज मनाउँदा अनावश्यक खर्च कम हुने र आपसी एकता बलियो बन्ने धारणा राखिन्।

कार्यक्रममा महिला सदस्यहरुले एकल नृत्य लगायत सांस्कृतिक प्रस्तुति दिएका थिए। सहभागीले कार्यक्रमबाट खुशी र सन्तुष्टि प्राप्त भएको जनाएका छन्।

तपाईको बिचार