काठमाडौँ,– नेपाल शिक्षाशास्त्री समाज (Teacher Educator’s Society-Nepal, TESON) को वार्षिक कार्यक्रम तथा साधारण सभा सम्पन्न भएको छ।
प्रज्ञा प्रतिष्ठान, कमलादीको लेखनाथ कक्षमा हालै सम्पन्न भएको छ। शिक्षाशास्त्रीहरूको संस्था TESON ले आयोजना गरेको यो कार्यक्रममा शिक्षाको गुणस्तर सुधार, शिक्षक शिक्षाको नवीनतम प्रवृत्ति र चुनौतीहरूका साथै संस्थाको भावी कार्यदिशाबारे छलफल गरिएको थियो।
TESON अध्यक्ष प्रा. डा. तीर्थराज पराजुलीले सभापतित्व गर्नु भएको यस कार्यक्रमको उद्घाटन प्रमुख अतिथि, गुरुहरूका गुरु, प्रा. डा. बज्रराज शाक्यले गर्नुभएको थियो। शाक्यले शिक्षक शिक्षाको महत्वमाथि जोड दिँदै यस क्षेत्रमा देखिएका समस्याहरूलाई समाधान गर्न आफ्ना अनुभव साझा गर्नु भएको थियो ।
TESON सदस्य तारा पौडेलले स्वागत मन्तव्यमा संस्थाले शिक्षक शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै सबैलाई स्वागत गर्नुभयो। पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति,TESON पूर्वअध्यक्ष प्रा. डा. प्रेम नारायण अर्यालले नेपाल शिक्षाशास्त्री समाजको परिचयात्मक प्रस्तुती दिनुभयो। उहाँले शिक्षक शिक्षालाई प्रभावकारी बनाउन TESON ले खेलेको भूमिका, आगामी योजना र अक्षयकोष सम्बन्धी जानकारी दिनु भयो।
कार्यक्रममा मुख्य वक्ता – त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाविद्, प्रा. डा. तीर्थराज खनियाले “Education at The Crossroad: Quality Human Resources as the Key”शिर्षकको कार्यपत्रमा हाल देशमा शिक्षकहरुको अभाव हुदै गएको सन्दर्भ, गुणस्तरीय शिक्षक निर्माणमा देखिएका समस्याहरू र शिक्षक शिक्षालाई प्रभावकारी बनाउन गर्नुपर्ने कार्यको बारेमा उल्लेख गर्नु भयो ।
त्यस्तै अर्का मुख्य वक्ता नेपाल सरकारका पूर्व सचिव डा. खगराज बरालले “नेपालको शिक्षक तथा शिक्षक शिक्षामा विद्यमान अभ्यास, चुनौती र भावी दिशा” शीर्षकमा आफ्ना अनुभवसहितको मन्तव्य राख्नु भयो।
उहाँले लर्ड मेकालेको निर्णय गरी भारतभर कार्यान्वयन गरेको भारतीय आधुनिक शिक्षाको प्रभाव वर्तमानमा पनि उत्तिकै देखिएको सन्दर्भ तथा बाहिरबाट परीक्षणका लागि सिफारिस गरिएका शिक्षाका नीति तथा कार्यक्रमले वर्तमान शिक्षा, शिक्षक शिक्षा र समग्र शिक्षा व्यवस्थापनलाई कमजोर पारेको उल्लेख गर्नु भयो। उहाँले शिक्षकको सेवा, सुविधा, उत्प्रेरणा कम रहेको सन्दर्भमा कार्य गर्नुपर्ने आवस्यकतालाई औल्याउनु भयो भने शिक्षकले तयारगर्ने शिक्षकहरुको गुणस्तरियता सन्दर्भमा उठ्ने गरेका प्रश्नहरुको समाधानमा मेहनत गर्नु पर्ने पनि औल्याउनु भयो ।
दुबै वक्ताहरुको प्रस्तुतिमा TESON संस्थापक अध्यक्ष, वरिष्ठ शिक्षाविद् प्रा. डा. बासुदेव काफ्लेले टिप्पणीमुलक मन्तब्य राख्दै आगामी दिनमा TESON सरकारसंगको समन्वय गरि नीतिगत, सैद्धान्तिक तथा कार्यक्रमिक सहकार्यमा अगाडी बढ्नुपर्ने पनि औल्याउनु भयो ।
डा. गंगाराम गौतम (वरिष्ठ उपाध्यक्ष,TESON)ले विषयवस्तुको गहिराइ सम्म पुगेर संयमित संचालन र सहजीकरण गर्नु भएको प्यानल छलफलमा प्यानलिस्टहरू – डा. प्रमोद भट्ट, श्री प्रकृति अधिकारी, श्री नरोत्तम अर्याल र श्री रविना महर्जनले शिक्षकको अवस्था, गुणस्तरीयता, छनौट प्रणाली, नीतिगत व्यवस्था, अनुसन्धान तथा शिक्षक शिक्षाले विद्यालय शिक्षा र उच्च शिक्षामा खेल्नु पर्ने भूमिकाको सन्दर्भमा गर्नु भएको महत्वपूर्ण छलफलले कार्यक्रमलाई रोमान्चक र अर्थपूर्ण बनाएको थियो ।
सम्पूर्ण कार्यक्रमको सहजीकरण शिक्षाविद् प्रा.डा. पेशल खनाल(महासचिव, TESON) ले गर्नुभएको थियो । कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालय, शिक्षण संस्था, र सरकारी निकायबाट संस्थापक र आजीवन सदस्यहरू, साथै पत्रकारहरू गरी करिब २०० जना शिक्षाशास्त्रीहरूको सहभागिता रहेको थियो।
सहभागी शिक्षाशास्त्रीहरूले शिक्षक शिक्षाको सुधार, शिक्षकहरूको व्यावसायिक विकास, र शिक्षण सिकाइमा कन्द्रित भएकोले कार्यक्रम उत्कृष्ट रहेको र नेपालका सबै भन्दा प्रतिष्ठित शिक्षाविद्हरू रहेको यस संस्थाले आगामी दिनमा यस्ता छलफल, बहस, गोष्ठी मार्फत सरकारसंग समन्वय गरि शिक्षक शिक्षाको गुणस्तर वृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नु भयो ।
सम्मेलनको समापन गर्दै TESON का अध्यक्ष श्रद्धेय प्रा. डा. तीर्थराज पराजुलीले सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै शिक्षक शिक्षाको क्षेत्रमा साझा प्रयासबाट ठूलो परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थापक सदस्यहरुको सम्मान गरिएको थियो। साथै दोश्रो सत्रको वार्षिक साधारण सभामा संस्थाको आर्थिक प्रतिवेदन र महासचिवले प्रस्तुत गरेको प्रतिवेदन TESON कार्यसमितिबाट छलफल पछि पारित गरिएको थियो।
यो कार्यक्रमले नेपालको शिक्षक शिक्षालाई समयानुकूल बनाउन र शिक्षाको समग्र गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
तपाईको बिचार