'नर्सिङ कलेज बन्द हुँदा विद्यार्थीले नेपालमै नर्सिङ पढ्नबाट बञ्चित भए'

‘नर्सिङ कलेज बन्द हुँदा विद्यार्थीले नेपालमै नर्सिङ पढ्नबाट बञ्चित भए’

3365

सीटीईभीटी अन्तर्गतका कलेजहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष नेत्रराज चटौतसँग शूल्क वृद्धिको सन्दर्भमा राजधानी प्रेसले गरेको कुराकानीको सम्पादित अंश  यहाँ प्रस्तुत गरिएको छ । 

शुल्क वृद्धि आवश्यक भएरै गरिएको हो 

सीटीईभीटीको शुल्क वृद्धि आवश्यक भएरै गरिएको हो । निजी कलेजले कलेज संचालन गर्ने भनेकै विद्यार्थीबाट शुल्क लिएर हो । विद्यार्थीसँग आवश्यक शुल्क नलिई गुणस्तर शिक्षा दिनै सकिँदैन । त्यसकारण शुल्क वृद्धिविना निजी क्षेत्रले गुणस्तर शिक्षा दिनै सक्दैन ।

जहाँसम्म तपाईले शुल्क वृद्धिको कुरा उठाउनु भएको छ, अहिले विद्यार्थीले तिरेको शुल्क २०७१ सालको शुल्क हो । २०७१ सालदेखि २०७९ सम्म हामीले त्यही शुल्कमा पढायौं । तर यो नौ वर्षको मूल्य वृद्धि हेर्ने हो भने ५२–५३ प्रतिशतले भएको छ । ०७१ मा एक लाख घरभाडा अहिले बढेर २ लाख पचास हजार पुगेको छ । डिलेज ७५ बाट बढेर १७५ पुगेको छ । अस्पताल, औषधी कम्पनी सम्झौता नविकरण एक लाखबाट बढेर दुई लाख पुगेको छ । अस्पताल प्रवेश शुल्क प्रति महिना २५ सयबाट ५ हजार पुगेको छ । समुदायिक स्वास्थ्य संस्थाको सम्झौता नविकरण ५० हजारबाट एक लाख पुगेको छ । यसरी सबै शीर्षकमा दोब्बर मूल्य वृद्धि भएको छ । शूल्क वृद्धिको एउटा मापदण्ड यो हो ।

अर्को मापदण्ड सरकारले शिक्षक/कर्मचारीलाई वृद्धि गरेको तलब/भत्ता हो । हामीले २०७१ मा शुल्क समायोजन गर्दा शिक्षकको तलब १६ हजार कायम गरिएको थियो । प्रिन्सिपलको तलब २०/२२ हजार कायम गरिएको थियो । अहिले प्रिन्सिपलको तलब ४० हजारभन्दा माथि पुगेको छ । शिक्षकको तलव ३० हजार हाराहारीमा छ । यो तलव पनि अझ कमै हो । तर यी सबै वृद्धिलाई धान्ने स्रोत भनेको त त्यही २०७१ सालमा कायम गरिएको शुल्क हो । त्यसकारण प्राविधिक शिक्षाले गुणस्तर कायम गर्न लगानी गर्नैपर्छ । लगानी कि विद्यार्थीले गर्नुपर्छ कि सरकारले । अर्को कुनै विकल्पै छैन । तर हामी निजी शिक्षण संस्थामाथि सरकारको कुनै लगानी छैन । यो विशुद्ध विद्यार्थीको लगानीले चल्छ । त्यसकारण हामीले शुल्क वृद्धि अपरिहार्य मानेका थियौं । अहिले वृद्धि गरिएका शुल्क अपुग भए पनि अहिलेलाई यसलाई नै मानेर जाने भन्ने भएको छ ।

२०७१ सालमा शुल्क वृद्धि गर्दा प्रष्ट भनिएको छ– सीटीईभीटीले प्रत्येक दुई वर्षमा शुल्क समायोज परिषद कार्यालयले गर्नुपर्ने छ । अहिले जुन मात्रामा शुल्क वृद्धि भएको देखिएको छ, यसको कारणकतत्व प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् नै हो । दुई वर्षमा शुल्क समायोज गरेको भए, ५–६ प्रतिशतले शुल्क वृद्धि हुन्थ्यो । एकैचोटी ९ वर्षमा शुल्क वृद्धि हुँदा धरै प्रतिशतले बढ्न पुगेको हो । यही बीचमा चिकित्सा शिक्षा आयोग आएपछि प्रत्येक वर्ष शुल्क वृद्धि गरेको छ । उदाहरणका लागि चिकित्सा शिक्षा आयोग आउँदाखेरी विएसी नर्सिङको शुल्क ७ लाख ५० हजार कायम गरेको थियो तर अहिले बढेर १० लाख ६३ हजार छ । अहिले ३.६७ प्रतिशतले प्रत्येक वर्ष शुल्क वृद्धि गर्न पाइने निर्णय गरेको छ ।

शुल्क वृद्धिसँगै शिक्षाको गुणस्तरको सवाल

शिक्षाको गुणस्तर मापन गर्ने भनेको नतिजाबाट हो । नजिता हेर्दा सरकारी क्षेत्रका कलेजहरुको भन्दा निजी क्षेत्रका कलेजहरुको नतिजा राम्रो देखिएको छ । निजी क्षेत्रबाट आएको विद्यार्थी बजारमा तत्कालै रोजगार भएको पाइएको छ । अहिले सीटीईभीटीले तीन प्रकारको स्कुललाई अगाडि बढाएको छ । एउटा निजी क्षेत्र । उत्पादनको थेरै मात्र निजी क्षेत्रबाट भएको छ । धेरैजस्तो राज्यले नै उत्पादन गरेको छ । राज्यको अहिले एक सयभन्दा बढी आंगिक कलेज छन् । ६–७ सय वटा टेक्स स्कुल (समुदायिक शिक्षालयमा प्राविधिक कार्यक्रम चलाएको) छन् । ६–७ सयभन्दा बढी प्राविधिक धार भनेर मन्त्रालयले चलाएको छ । ४२२ वटा निजी कलेजहरु रहेका छन् ।

गुणस्तरको सवालमा सरकारीको तुलनामा निजी कलेजहरु अब्बल देखिएका छन् । भौतिक पूर्वाधारको हिसाबले पनि सरकारीभन्दा निजी अब्बल छन् । शतप्रतिशत भन्न मिल्दैन तर ९० प्रतिशत निजी कलेजको सरकारी कलेजको भन्दा पूर्वाधार पनि राम्रो छ र शैक्षिक गुणस्तर पनि । तर शुल्क नलिइ पढाउने हो भने राज्यले पैसा तिरिदिनुपर्छ, हामी शुल्क नलिई नै पढाउन तयार छौं । राज्यले पढाउँदा पनि राज्यको पैसा त लगानी भएको छ । विद्यार्थीसँग पनि उठाएकै छ । निजी क्षेत्रको भन्दा बढी राज्यको लगानी भएको छ सरकारी कलेजहरुमा तर गुणस्तर निजीको जति दिन सकेको छैन । जहाँसम्म विद्यार्थीको आन्दोलनको कुरा छ, त्यो त जाएज नै छ । विद्यार्थीले पढ्नका लागि आर्थिक भार बेहोर्न नपरोस भन्ने कुरा कसरी नराम्रो हुन्छ र रु विद्यार्थीको माग स्वभाविक छ । त्यो राज्यको दायित्व हो । तर राज्यले हेर्नुपर्ने कुरा के हो भने अब निजी क्षेत्रलाई पनि राज्यकै सरह मान्यता देओस् । शिक्षकले पाउने तलब राज्यले नै देखोस् ।

अहिले चिकित्स शिक्षा आयोगले एमडि एमएसमा निशुल्क पढाएको छ । त्यही पढ्न निजीलाई २०–२२ लाख शुल्क तोकेको छ भने चिकित्सा आयोगले अर्थमन्त्रालयबाट प्रति विद्यार्थी २०–२२ लाख प्राप्त गरेको छ । यो राम्रो चलनको शुरुवात भएको छ । त्यसमा खानेबस्ने सुविधा पनि अर्थले नै दिन्छ । सीटीईभीटीको शुल्कको मापदण्ड तोक्न २०७४ सालमा एउटा आयोग बनेको थियो । त्यो आयोगले प्रत्येक दुई वर्षका शुल्क समायोजन गर्ने र १० प्रतिशत छत्रवृद्धिमा पढेका विद्यार्थीलाई स्वदेशमै काममा लगाउने भन्ने थियो । तर सरकारले त्यो आयोगको प्रतिवेदन सार्वजनिक नै गरेन । अहिले त्यो १० प्रतिशत छात्रवृद्धिमा पढ्ने विद्यार्थी रोजगारीका लागि विदेश गइरहेका छन् । त्यो भनेको सिधै राज्यको घटा हो ।

दक्ष जनशक्ति उत्पादन गर्ने काम हाम्रो, रोजगारी दिने काम राज्यको

मैले २०५७ सालमा नर्सिङ क्याम्पस खोल्दा भारतबाट शिक्षक ल्याएर पढाएको हो । नेपालमा उत्पादन नै थिएन । तर अहिले त हामीसँग जनशक्ति पनि उत्पादन भएको छ र धेरैले स्वदेशमै रोजगारी पनि पाएका छन् । जहाँसम्म विदेश जानुपर्ने बाध्यताको सवाल छ, त्यो त राज्यको सवाल हो । हामीले रोजगारीको ग्यारेण्टी गर्न सक्दैनौं । तर हामीले राजगारी पनि सिर्जना गरेका छौं ।

अर्को कुरा राज्यले भनिरहेको छ कि रेमिन्ट्यान्सले देश चलेको छ । रेमिन्ट्यान्सबाटै देश चलाउने हो भने त अरबमा महिनाको ३० हजार कमाउने जनशक्ति उत्पदन गर्नुभन्दा नर्सिङ बढाएर ४–५ लाख कमाउने जनशक्ति उत्पादन गर्नु राम्रो हो नि । हाम्रो काम त दक्ष जनशक्ति उत्पादन गर्ने हो, त्यो जनशक्ति राज्यभित्र खपत गर्ने नीति त राज्यले बनाउने हो । मेरै कलेजकै उत्पादन हेर्ने हो भने ५० प्रतिशतभन्दा धेरै युरोप–अमेरिका गएका छन् । नेपालका लागि मेरो उत्पादन गुणस्तरहिन हुने तर विदेशका लागि गुणस्तरीय हुने किन भयो ? अहिले नर्सिङ पढेकाहरुले अरबमै पनि ३ लाखभन्दा धेरै कमाइरहेका छन् । तर नेपाल सरकारले नर्सलाई दिने तलब ३४ हजार हाराहारीमा छ । नेपालमा ३४ हजार खाएर बस्ने कि अरबमा गएर महिनाको तीन लाख कमाउने ? त्यो व्यक्तिको स्वतन्त्रताको विषय हो । अहिलेको युगै ग्लोवल मार्केटको युग हो । त्यसकारण यी मेनपावर विदेशमै गए पनि रेमिट्यान्स बृद्धि हुन्छ । निजी क्षेत्रले रोजगारीमा योगदान गरेको छैन भन्ने होइन, निजीले पनि अस्पतालहरु खोलेका छन्, थुप्रै रोजगारीको सिर्जना भएको छ ।

रोजगारीको अर्को पनि महत्वपूर्ण सवाल छ । यदि हेल्थ असिरस्टेन्स, स्टाफ नर्स, फर्मेसीको जति पनि सरकारी दरबन्दी छ, त्यो अनुसार विज्ञानपन गर्ने हो भने अहिले पनि देशभित्र उत्पादन भएको जनशक्ति अहिले पनि कमै हुन्छ । निजी क्षेत्र २०७० साल अघि जति थियो त्यति नै छ । थपिएको छैन । बरु निजी क्षेत्रका संख्या बटेको छ । चिकित्सा शिक्षा आयोगले सीटीईभीटी अन्तर्गतका अनमी, सीएमए पूर्ण रुपमा बन्द गरेको छ । प्रमाणपत्र तहमा नर्सिङ चलाई रहेका ७३ कलेज भर्ना नपाएर बसेको छ । त्यसको कारण चिकित्सा शिक्षा आयोग हो ।

चिकित्सा शिक्षा आयोगले १०० शैयाको आफ्नै अस्पताल कलेजभित्र हुनुपर्ने नियम बनाइदियो । हामीसँग १०० शैयाको अस्पताल छ तर आफ्नै अस्पताल छैन । हाम्रो मान्यता के हो भने विद्यार्थीले प्राक्टिल गर्न अस्पताल चाहिएको हो कि कलेजको अस्पताल चाहिएको हो ? हामीले गर्दै आएको अभ्यास भनेको सरकारी वा अन्य अस्पतालसँग सम्झौता गरेर त्यसको व्यवस्थापन हो । मैले २०५७ सालमा कलेज खोल्दा पनि सरकारी अस्पतालसँग सम्झौता गरेर विद्यार्थीलाई प्राक्टिकल गर्न पढाएको हो । र ती विद्यार्थीले एक खालको प्रयोगात्मक शिक्षा प्राप्त गरे । आज चिकित्सा शिक्षा आयेग भन्दैछ तेरो आफ्नै अस्पताल खोल । तर हामीले अस्पताल खोलेर देशमा विरामी त बढ्दैन । यदि मेरो अस्पतालमा पाँच जनाभन्दा विरामी आएनन् भने विद्यार्थीले के सिक्ने ? यो मिल्ने कुरै होइन । त्यसो गर्न सम्भव नै छैन । यो काम कलेजले अन्य अस्पतालसँग सहकार्य गरेर मात्र गर्न सक्छ । ७३ नर्सिङ कलेज यही कारण बन्द छ ।

हाम्रोमा नर्सिङ कलेज बन्द हुँदा विद्यार्थीले नेपालमै नसिङ पढ्नबाट बञ्चित भए । अहिले नेपाल–भारतको बोर्डरमा १६३ वटा नर्सिङ कलेज खोलिसक्यो । पहिला १२ पासले मात्रै पढ्न पाउँथ्यो भने अहिले नेपालकै करिकुलम राखेर उनीहरुले १० पास गरेका विद्यार्थीलाई पनि नर्सिङ पढाउन थालिसकेका छन् । १० पास गरेका नेपालीहरुलाई भर्ना गर्न सुरु गरिसकेको छ । यो योजनामा भएको देखिन्छ । यसबाट सीमित व्यक्तिहरुले लाभ उठाएका छन् ।

अहिले बोर्डरमा हेर्ने हो भने एक विद्यार्थी बराबर ४०–५० हजार कमिशन दिन्छ । तर नेपालको नर्सिङ पढाउने कलेजहरु बन्द गर्नुपर्ने अवस्थामा छ । अब ३ वर्षपछि ती विद्यार्थीहरु बोर्डरबाट नर्सिङ पास गरेर आउँछन्, तीनको गुणस्तर जाँच कस्ले गर्ने ? हाम्रोमा गुणस्तर मापन गर्न नर्सिङ काउन्सिल, सीटीईभीटी आउँथ्यो तर बोर्डरमा नेपाल सरकारी निकायले बोर्डरमा कस्तो पढाइ भएको छ त हेर्दैन । तर पास गरेर आएपछि रजिस्ट्रेशन गर्छन् । तर नेपालमै कोटा बढाइदिने हो भने ती विद्यार्थी यही पढ्थे । अहिले नेपालमा १८ सयभन्दा कम नर्सिङ कोटा छ तर पढ्न चाहने विद्यार्थी प्रत्येक वर्ष १२ हजार हाराहारी छ । नर्सिङ कलेज बन्द नहुँदा ४ हजार ८ सय कोटा थियो । कोटा कम हुँदा विद्यार्थी मात्रै होइन, नेपालको अर्बौ पैसा पनि विहिरिएको छ । स्टार्फ नर्स पढ्न विद्यार्थीले जति पनि खर्च गर्न तयार हुन्छन् । अब बोर्डरमा खुलेका कलेजहरुले सिभिल इन्जिनियर, ल्याब टेक्निसियन पनि पढाउन थालिसकेका छन् । यो ठूलो समस्या हो ।

तपाईको बिचार