पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी

633

काठमाडौँ । पशुपति क्षेत्रको महाशिवरात्रि पर्वको तयारी सुरु भएको छ। महाशिवरात्रिको तयारीको अंशको रूपमा पशुपति क्षेत्रमा सफाइ गरिएको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलनकुमार थापाको नेतृत्वमा भएको सफाइ कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्थानीय तथा भक्तजनहरूको पनि सहभागिता रहेको थियो। महाशिवरात्रिमा पशुपतिनाथको मन्दिरलाई आकर्षक बनाउन रङरोगन गरिने कुरा कोषका सदस्य सचिव थापाले बताए।

यस वर्ष महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रका विभिन्न देवी(देवताका आकर्षक भित्ते चित्र पनि बनाइने भएको छ, जसको काम सुरु भइसकेको कोषले जनाएको छ। अहिले महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विभिन्न कार्यहरू भइरहेको छ।

यस वर्ष भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी साधु,सन्तहरू पनि पशुपति क्षेत्र आउने अनुमान गरिएको छ, त्यसैले त्यसका लागि विशेष तयारी गरिएको कोषका संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख इश्वर भण्डारीले बताए। महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा साधु सन्तहरूको संख्या बढ्ने गर्छ, र यस वर्ष महाकुम्भको कारण पनि साधु सन्तहरूको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।

महाशिवरात्रिको तयारीका लागि सोमबार वा मङ्गलबार कोष सञ्चालक परिषद्को बैठक बसेर अन्य तयारीका कामहरू अघि बढाइने योजना बनाइएको छ। प्रत्येक वर्ष महाशिवरात्रिका दिन, फागुन कृष्ण त्रयोदशीमा, नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन पशुपति क्षेत्र आउन थाल्छन्। यस वर्ष महाशिवरात्रि पर्व फागुन १४ गते बुधबार परेको छ, र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)मा यसलाई उल्लेख गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर