आज यस्तो छ विपक्षी दलहरुको तयारी

आज यस्तो छ विपक्षी दलहरुको तयारी

603

काठमाडौ । पाँच महिनाको अन्तरालपछि आजबाट संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । आज प्रधानमन्त्रीका साथै विपक्षी दलका प्रमुख नेताहरुले संसदमा बोल्ने कार्यक्रम रहेको छ । संसदमा
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसदहरु विरोधमा उत्रिने तयारी गरेको छ ।

संसदमा आज सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश हुने कार्यसूची छ । त्यस्तै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि आजको कार्यसूचीमा चढाइएको छ ।

हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोधमा संसदमा उत्रने निर्णय गरेको थियो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठीक नभएको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएका छन् ।

अध्यादेशको विरोधसहित जनसरोकारका विषयहरु एकमत भएर संसदमा उठाउने विपक्षी दलका नेताहरुले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीले पनि विपक्षीय भूमिका खेल्ने निर्णय गरिसकेका छन् ।

तथापी आज अध्यादेश पेस गर्दा नै विरोध गर्ने विपक्षी दलहरूको तयारी छ । तर, सरकार भने अध्यादेश प्रतिस्थापन विधेयकलाई पनि फास्ट ट्र्याकमा पास गर्ने रणनीतिमा रहेको छ ।

तपाईको बिचार