काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै सांसदहरुलाई एकढिक्का भएर संसदमा एउटै आवाज उठाउन उर्दी जारी गरेका छन् । आज पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र सांसद एवं पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरूसँगको छलफलमा सभापति देउवाले यस्तो कडा उर्दी जारी गरेका हुन् ।
बैठकमा सभापति देउवाले केही असन्तुष्टि भए पार्टीको बैठकमा राख्न र संसद र बाहिर प्रस्तुत हुँदा व्यक्तिगत नभइ पार्टीका रुपमा आफ्ना धारण राख्न निर्देशन दिएका हुन्।
बैठकमा मन्त्रीहरूले सरकारका काम, कारबाहीबारे जानकारी गराएका थिए। बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम, कारबाही, संसदमा प्रस्तुत भएका विधेयकहरू, अध्यादेश र आउने विधेयकहरूका विषयमा गहन छलफल भएको बताईएको छ।
नेपाली कांग्रेस एक ढिक्का भएर एउटै आवाज र एउटै स्वरका साथ संसदमा प्रस्तुत हुने र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी गराए ।
आर्थिक पक्षमा तत्काल केही सुधार गर्नुपर्ने भएकाले र मुलुकमा आर्थिक गतिविधि चलायमान बनाउन केही विधेयक संशोधन गर्नैपर्ने बाध्यता भएकाले अध्यादेश ल्याएको कुरा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले जानकारी गराएका थिए।
तपाईको बिचार