रविको थुनछेक बहस आज पनि सकिएन, भोलि फेरी अदालतमा उपस्थित हुने

रविको थुनछेक बहस आज पनि सकिएन, भोलि फेरी अदालतमा उपस्थित हुने

597

काठमाडौ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आज पनि सकिएन । रविले हिजो अदालतमा उपस्थित भएर बयान दिएका थिए । आज सरकारी र जाहेरवालतर्फका वकिलहरूले बहस गरेका छन् । आज लामिछानेका वकिलहरूको बहस गर्ने पालो नआएका कारण थुनछेक बहस लम्बिएको हो ।

मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । आज सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरे । बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र यसपछि लामिछानेका पक्षमा कानून व्यवसायीले बहस गर्नेछन् । प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा छन्। बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आज पनि भोलि उपस्थित हुने शर्तमा छाडेको छ । भोलि बिहान १० बजे अदालत उपस्थित हुने गरी जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाएर छोडेको हो ।

जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

तपाईको बिचार