काभ्रेको महाभारत सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन

काभ्रेको महाभारत सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आएन

559

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । मंगलबार दिउसो खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा डढेलो लागेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले हिजो साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेपनि आगो नियन्त्रणमा आइनसकेको जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिईएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेबाट वनको भिर क्षेत्रबाट डढेलो सुरु भएको हो । हाल डढेलो नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । डढेलो नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

डढेलो नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए । डढेलो लागेको स्थानबाट मानव बस्ती करिव तीन किलोमिटरको दूरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

तपाईको बिचार